काठमाडौं । निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको छ।
निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै आयोगले कारबाहीको लागि पत्राचार गरेको हो।
‘सेतोपाटी’ले प्रकाशन गरेको ‘चितवन ३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन ः रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो । तर, निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ।
आयोगले गरेको पत्राचारमा भनिएको छ,‘ अनलाइनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ, आचारसंहिताको दफा २५ को उपदफा १ को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिँदा सीउपर आवश्यक कारबाही हुन निर्णयअनुसार अनुरोध छ।’
यसैबीच चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहालले पनि मत सर्वेक्षणको नाममा प्रकाशित समाचारप्रति आपत्ति जनाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू घरदैलो अभियानमा व्यस्त रहेको र जनताबाट पाएको माया, विश्वास र समर्थनले उत्साहित बनाएको उल्लेख गरेकी छन्।
भरतपुर महानगरपालिकामा नौ वर्षे कार्यकाल पूरा गरेको अनुभव स्मरण गर्दै उनले आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै आधारमा जनसमर्थन पाएको दाबी गरेकी छन्। निर्वाचनमा जित र हार दुवैलाई सहर्ष स्वीकार गर्ने बताउँदै उनले मतदाताको विश्वासका आधारमा फराकिलो मतान्तरले विजयी हुने आत्मविश्वास पनि व्यक्त गरेकी छन्।
केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताविपरीत मत सर्वेक्षणका नाममा भ्रामक सामग्री प्रकाशन गरेको भन्दै उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई प्रभावित पार्न सक्ने उल्लेख गर्दै कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेकी छन्।
लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको दाहालकोक भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।