लोड हुँदैछ...

मेनु

मतपत्र छपाइ अन्तिम चरणमा, ६३ जिल्लाको काम सम्पन्न

मतपत्र छपाइ अन्तिम चरणमा, ६३ जिल्लाको काम सम्पन्न

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको निर्र्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका अनुसार २१ फागुनमा हुने निर्वाचनका लागि हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ। हालसम्म १ करोड ७१ लाख ६३ हजार मतपत्र छापिएको सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिएका छन्। अब काठमाडौं उपत्यका आसपासका १४ जिल्लाको मतपत्र छपाइ मात्र बाँकी रहेको छ । तीन दिनभित्र सो काम सकिने अनुमान गरिएको आयोगको भनाइ छ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा लगायतका जिल्लाको मतपत्र छपाइ सम्पन्न भएर ढुवानी भइरहेको छ। त्यस्तै दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, पश्चिम नवलपरासी, मोरङसहित अन्य जिल्लाको मतपत्र छपाइ गरेर पठाउने तयारी भइसकेको छ।

यसैगरी उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी पूर्व, पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोकको मतपत्र छपाइ पनि सम्पन्न भएको छ। हालसम्म छापिएका मतपत्रमध्ये १५ हजार ३७१ बाकस प्याकिङ भइसकेको छ । दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ तथा ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।

गत २२ पुसदेखि छपाइ सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापेर सम्बन्धित जिल्लामा पठाइसकिएको छ भने दोस्रो चरणअन्तर्गत दुई करोड ८ लाख ३० हजार मतपत्र छापेर प्याकिङ तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ ।

छपाइ सम्पन्न भएका मतपत्र शुक्रबारदेखि नै कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन थालिएको आयोगले जनाएको छ। सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सुरु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।