विराटनगर । तस्करी गरेर नेपालबाट लगिएको भनिएको करिब ७ करोड रुपैयाँ मूल्य बरारको हिरा भारतको सिलिगुढीस्थित बागडोगरा विमानस्थलबाट बरामद गरिएको छ ।
भारतीय केन्द्रीय राजस्व गुप्तचर विभाग (डीआरआई) ले मंगलबार दिल्ली उड्ने तयारीमा रहेका एक भारतीयलाई नियन्त्रणमा लिँदै अवैध रूपमा भित्र्याइएका ४८ थान हिरा जफत गरेको जनाएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार हिरासँगै दिल्ली बस्ने दीपककुमार महासुलाल मेहता पक्राउ परेका छन् । बरामद भएको हिराको मूल्य ४ करोड ३३ लाख भारु पर्ने बताइएको छ ।
डीआरआईका अनुसार विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि मेहतामाथि निगरानी राखिएको थियो । विमानस्थलमा सोधपुछ तथा लगेज जाँच गर्दा हिरा फेला परेको थियो । बरामद हिराको कुल तौल ६६१ दशमलव ६६ ग्राम रहेको विभागले जनाएको छ ।
राजश्व गुप्तचर विभागको प्रारम्भिक अनुसन्धान अनुसार हिरा नेपालबाट स्थलमार्ग हुदै सिलिगुडी पुर्याइएको थियो । नेपाल–भारत सीमाको कडा सुरक्षा निगरानीलाई छिचोल्दै मेहता सोमबार सिलिगुडी पुगेका थिए । त्यहाँ एक रात बिताएपछि उनी मंगलबार बागडोगरा विमानस्थल हुँदै दिल्ली उड्ने योजनामा रहेको डीआरआईले दाबी गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार हिरा नेपालबाटै भारत ल्याइएको हो या अन्य देशबाट नेपाल भएर भारत ल्याइएको भन्नेबारे अनुसन्धान जारी रहेको विभागले जनाएको छ । पक्राउ परेका मेहतालाई सिलिगुडी जिल्ला अदालतले उनलाई दुई साता न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।