लोड हुँदैछ...

मेनु

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा अन्तर्राष्ट्रिय सम्मेलन

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा अन्तर्राष्ट्रिय सम्मेलन

विराटनगर । मोरङको गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा विहीवारदेखि अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलन पूर्वाञ्चल विश्वविद्यालयले आयोजना गरेको हो । “इनभिजिनिङ दि हिमालयन फ्युचर : पाथवे टु सस्टेनाबिलिटी एण्ड डेभेलोपमेण्ट” शिर्षकमा भएको सम्मेलनमा एक सय ९४ वटा अनुसन्धानमूलक लेखहरु समावेश छन् । कला, कानून र शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ, विज्ञान र प्रविधि, मेडिसिन एण्ड हेल्थ साईन्स सहित पाँच वटा विषयमा छलफल हुँदैछन् । सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले अन्तर्राष्ट्रिय सम्मेलनको महत्व माथि प्रकाश पारे । यस्तो सम्मेलनले विकासमा, व्यवस्थापनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा, विश्वविद्यालयहरुबीचको सम्बन्धमा ठूलो महत्व राख्ने प्रमुख अतिथि अधिकारीले बताए ।

विहीवार तीन वटा प्लेनरी सेसन र एउटा टेक्निकल सेसन सञ्चालन भएका छन् । पहिलो सत्रमा सिनासका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मृगेन्द्र बहादुर कार्की र नर्वेका प्राध्यापक स्टेन डब्ल्यु. वालेसले मूख्य वक्ताको रूपमा थिए भने दोस्रो सत्रको मूख्य वक्ताको रुपमा चुलालोङकम विश्वविद्यालय थाइल्याण्डका प्राध्यापक डाक्टर किटाइङ आङसुली, स्टेट युनिभर्सिटी अफ इन्टर्नल अफेयर्स पोल्याण्डका प्राध्यापक राफल लिजुट र नर्थ वेष्ट युनिभर्सिटी दक्षिण अफ्रिकाका प्राध्यापक लुसिस बोटेज थिए ।

तेस्रो सत्रको प्रमुख वक्ताको रुपमा काठमाण्डौं विश्वविद्यालयका प्राध्यापक डाक्टर सुदन झा, बी.एम.एल. युनिभर्सिटी भारतका प्राध्यापक अनिरुध अग्रवाल र एशिया प्यासिफिक ग्लोबल अलाइन्स फर ब्याङ्किङ अन भ्यालुज नेदरल्याण्डका उपेन्द्र प्रसाद पौड्याल थिए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजु कुमार थपलियाले अन्तर्राष्ट्रिय सम्मेलनको उद्देश्य र महत्वका विषयमा जानकारी दिँदै सहभागि तथा अतिथिहरुको स्वागत गरे भने रजिष्टार प्राध्यापक डाक्टर कल्याणी मिश्रले अतिथि र सहभागीहरुलाई धन्यवाद ज्ञापन गरिन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।