लोड हुँदैछ...

मेनु

पार्टीमा बेथिति मात्रै रहेको भन्दै रास्वपा नेताद्वारा पार्टी परित्याग

पार्टीमा बेथिति मात्रै रहेको भन्दै रास्वपा नेताद्वारा पार्टी परित्याग

विराटनगर । चुनावी दौड चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय राणाले पार्टी परित्याग गर्दै आफ्नो राजीनामा पत्रमार्फत नेतृत्वसमक्ष गम्भीर प्रश्न उठाएका छन्।

सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग पार्टीको आन्तरिक अभ्यास र निर्णय प्रक्रियाबारे असन्तुष्टि जनाउँदै राणाले पार्टी छाडेका हुन् ।

राणाले पार्टीभित्र बेथितिलाई संस्थागत गर्ने प्रयास भएको आरोप लगाएका छन्। केन्द्रमा रहेका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू नै बेथितिका साझेदार बनेको उनको दाबी छ। पार्टी स्थापना कालमा गरिएको ‘बेथितिको अन्त्य, थितिको थालनी’ भन्ने वाचा उल्टिएर ‘थितिको अन्त्य–बेथितिको थालनी’ भएको उनको टिप्पणी छ।

राणाले रास्वपाले सञ्चालन गरेको ‘प्राइमरी इलेक्सन’ प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले लेखेका छन्, ‘प्राइमरी चुनावमा सधैं ५० प्रतिशत चलखेलको बाटो राखियो। विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार लुटियो। १००० रुपैयाँ सदस्यता शुल्कबाट ३०० पालिकामा रकम जाने भनिए पनि कहिल्यै पुगेन। प्राइमरी प्रक्रियामात्र होइन, त्यसका लागि उठाइएको ठूलो रकममा आर्थिक अपारदर्शिता र अपचलन देखियो ।’

राणाले अनुसार सुशासन, जवाफदेहिता र आर्थिक पारदर्शिता जस्ता मुद्दा अब पार्टीको नारामै सीमित भएका छन् । व्यवहारमा कार्यान्वयन नभएको उनको आरोप छ।

राणा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवार बनेका थिए । यसपटक पनि सोही क्षेत्रका आकांक्षी थिए। तर, आन्तरिक समीकरण मिलाउने क्रममा सभापति लामिछानेले उनलाई उम्मेदवार सूचीबाट बाहिर राखे।

काठमाडौं–५ मा राणासहित असिम शाह, राजुनाथ पाण्डे र सस्मित पोखरेलको दाबी थियो। अन्ततः बालेन शाहको कोटाबाट पोखरेल उम्मेदवार बनेपछि राणा असन्तुष्ट बनेका हुन् । रास्वपाका एक नेता दिएको जानकारी अनुसार राणा र उनको पुरानो टिम निष्क्रिय बनेपछि काठमाडौं–५ मा पार्टीको चुनावी अभियान प्रभावित भएको छ।

महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राणाले दिएको राजीनामामा सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन विवेक र इमानले नमानेको उल्लेख छ । उनले आन्तरिक लोकतान्त्रिक अभ्यास सही ढंगले नगर्ने पार्टीले सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास आफूले गर्न नसक्ने पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।