दमक । सामाजिक संस्था नौलो बिहानी नेपालले आगामी फागुन ६ र ७ गते दमक–९ स्थित सप्तश्री फुटसलमा ‘दमक कर्पोरेट कप–२०२६’ आयोजना गर्ने भएको छ।
दमक आसपासका वित्तीय संस्थाहरूबीच मैत्रीपूर्ण सम्बन्ध, सहकार्य र कार्य–जीवन सन्तुलन प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको संस्थाले जनाएको छ।
“हेल्दी टिम, स्ट्रङ ड्रिम” भन्ने मूल नारासहित सञ्चालन हुने प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका टिमहरूको सहभागिता रहनेछ। संस्थाले प्रतियोगितामा आर्थिक साझेदारी र टिम सहभागिताका लागि सम्बन्धित संस्थाहरूसँग अनुरोधसमेत गरेको छ।
नौलो बिहानी नेपाल एक नाफारहित सामाजिक संस्था हो । स्थापना कालदेखि नै युवामाझ खेलकुद, नेतृत्व विकास र सामाजिक विकृति विरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले असहाय वृद्धवृद्धा तथा बालबालिकाको संरक्षणमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
संस्थाका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत राष्ट्रिय सेवा, समाज सेवा र मानव सेवामा समर्पित हुने प्रेरणा जगाउनु, कर्मचारीहरूबीच आपसी सहयोग, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नु तथा शारीरिक–मानसिक स्वास्थ्य सुदृढ गर्दै कार्य–जीवन सन्तुलन कायम गर्नु हो। साथै संस्थाहरूबीच नेटवर्किङ र सद्भाव अभिवृद्धि गर्दै युवा–मैत्री, जिम्मेवार र कर्मचारी–केन्द्रित संस्थागत छवि निर्माण गर्ने लक्ष्य लिइएको छ।
दमक क्षेत्रमा पहिलोपटक यस प्रकारको कर्पोरेट फुटसल प्रतियोगिता हुन लागेको बताउँदै आयोजकले यसलाई वार्षिक रूपमा निरन्तरता दिने योजना रहेको जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।