धरान । २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा लालीगुराँस एसोसिएसनलाई २–१ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज युनाईटेड क्लब फाइनलमा प्रवेश गरेको छ।
बुधबार धरान रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा खेलको सुरुवातदेखि नै दुवै टोली आक्रामक देखिएको थियो । खेलको छैटौँ मिनेटमै सिकन्दर सिद्धिकीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको सट गोलमा परिणत भएपछि लालीगुराँसले अग्रता लिएको थियो। प्रारम्भिक दबाब झेले पनि प्लानिङ ब्वाइज संयमित रहँदै बराबरी खोज्ने प्रयासमा लागिरहेको थियो । पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।
खेलको दोश्रो हाफको २५ औँ मिनेटमा विवादास्पद बन्यो। लालीगुराँसका सिकन्दर सिद्धिकी, प्लानिङ ब्वाइजका पापाई केवे तथा पोखराका टिम म्यानेजर ईश्वर बस्याल रातो कार्ड पाउँदै मैदान बाहिरिएको थियो । खेलाडीहरु बीचको धकेलाधकेलपछि करिब सात मिनेट खेल अवरुद्ध भयो र दुवै टोली १० खेलाडीमा सीमित भए।
दोस्रो हाफमा प्लानिङ ब्वाइज थप आक्रामक बन्यो। खेलको ६०औँ मिनेटमा लालीगुराँसका अकोएटे जुनियरले विलियम एलेक्सलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्री मनिष अधिकारीले पेनाल्टी दिएका थिए। एलेक्सले अवसरलाई सदुपयोग गर्दै खेल १–१ को बराबरीमा पुर्याए।
खेल सकिन तीन मिनेट बाँकी रहँदा ८७ औँ मिनेटमा प्रताप सिंह राईले उत्कृष्ट व्यक्तिगत प्रयासमा निर्णायक गोल गर्दै प्लानिङ ब्वाइजलाई २–१ को जित दिलाए । उत्कृष्ट प्रदर्शन गरेका राई ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । अब प्लानिङ ब्वाइजले उपाधिका लागि झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको विजेता टोलिले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। साथै, सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।