लोड हुँदैछ...

मेनु

रुपन्देही–२ मा रास्वपाका उम्मेदवारविरुद्ध सहकारीपीडितको प्रदर्शन

रुपन्देही–२ मा रास्वपाका उम्मेदवारविरुद्ध सहकारीपीडितको प्रदर्शन

रुपन्देही । रुपन्देही क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलविरुद्ध सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले प्रदर्शन गरेका छन् ।

मंगलबार दिउँसो बुटवल–११ होराइजन चोकमा खरेल मत माग्दै हिँडिरहेको जानकारी पाएपछि पीडितहरू विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पुगेका थिए ।

सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘तिम्रो नेता खोई ? लिएर आऊ’, ‘जेनजीका माग कस्ले पूरा गर्छ ?’लगायतका नारा लेखिएको प्लेकार्ड सहकारी पीडितले बोकेका थिए। पीडितमध्येका सोनु श्रेष्ठका अनुसार सहकारी पीडित जम्मा भएको थाहा पाएपछि उम्मेदवार खरेल आफूहरू रहेको स्थानबाट करिब सय मिटर टाढाको एल डोराडो रेष्टुरेन्टभित्र पसेर बसेका थिए। खरेल करिब एक घण्टासम्म बाहिर ननिस्किएपछि आफूहरू फर्किएको उनले बताए ।

‘हामी हाम्रो बचत कहिले फिर्ता हुन्छ भनेर सोध्न आएका थियौं, तर हामीलाई देखेपछि उहाँ बाहिर ननिस्किनुभयो,’ श्रेष्ठले भने, ‘भेट नभएपछि फेरि अर्कोपटक प्रदर्शन गर्ने निर्णय गरेर फर्कियौं।’ उनले आफ्नो परिवारका दुईजनाको ११ लाख रुपैयाँ फिर्ता हुन बाँकी रहेको बताए।

सुप्रिम सहकारीका १० हजार ३९१ बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको जनाइएको छ । सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको र त्यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको अभियोग छ।

रास्वपा उम्मेदवार खरेलले भने प्रदर्शनबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन् । उनले चुनावका बेला यस्ता घटना हुने भन्दै यो विषय आफ्नो सरोकारको इस्यू नभएको बताए । एल डोराडो रेष्टुरेन्टका कर्मचारी सूर्य क्षेत्रीका अनुसार रास्वपाका १०–१२ जना व्यक्ति खाना खाएर गएका थिए ।

सुप्रिम सहकारी रकम अपचलन प्रकरणमा संलग्न रहेको आरोप लागेका रास्वपा अध्यक्ष रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए । रुपन्देही–२ मा नेकपा एमालेका विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, नेकपाका विश्वदीप पाण्डे, हाम्रो जनसेवा पार्टीका डा। निकोलस भुसाल, प्रलोपाका नारायण नागिला लगायत ३९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।