धरान । सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा सातदोबाटो यूथ क्लब काठमाडौँलाई २–१ गोलले पराजित गर्दै झापा–११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
धरान रङ्गशालामा मङ्गलबार भएको प्रतिस्पर्धात्मक खेलमा झापा–११ ले प्रभावशाली प्रदर्शन गर्दै जित हात पारेको हो। खेलको १६औँ मिनेटमा राजेश दाहालले गोल गर्दै झापालाई अग्रता दिलाए।
दोस्रो हाफको ४३औँ मिनेटमा एरोन थापाले अर्को गोल थपेपछि झापाको जित सुनिश्चित भयो। सातदोबाटोका वेविरोसले दोस्रो हाफको १३औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलको ४८औँ मिनेटमा सातदोबाटोका वेविरोसले रेडकार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। घरेलु दर्शकको उल्लेखनीय समर्थन पाएको खेलमा एरोन थापा मगर ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितको बुधबार हुने पहिलो सेमिफाइनल खेल लालीगुराँस फुटबल क्लब पोखरा र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ।
सातदोबाटो यूथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ दुवै टोली पहिलो पटक बुढासुब्बा गोल्डकप खेल्न धरान आएका हुन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।