लोड हुँदैछ...

मेनु

झापा–५ को चित्र : विपन्नका दुःख उस्तै

झापा–५ को चित्र : विपन्नका दुःख उस्तै

विराटनगर । झापा ५ मा बसोबास गर्ने स्थानीय बाहेक अरुलाई लाग्छ त्यहाँ धेरै विकास भएको छ । आफू प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले अरबौं बजेट खन्याएको विषयले चर्चा पाउँदा सबैको अनुमान पनि झापा ५ मा धेरै विकास भएको हुनसक्छ । तर, स्थानीय चिल्ला सडक बने पनि त्यसले खान नदिने भन्दै असन्तुष्टि व्यक्त गर्छन् । चिल्ला सडक पनि सबैतिर पुगेका भने छैनन् ।

गौरिगञ्ज ३ ठेकीटोलाका ६१ वर्षीय कमल कुमार निरौला धुलोमय बाटोको किनारमा बसिरहेको भेटिएन । त्यसक्रममा उनलाई यहाँ राज्यले गर्न बाँकी काम के हो भनेर प्रश्न गर्यौं । जवाफमा उनले भने, ‘बाटो लथालिङ्ग छ यसलाई बनाउनुपर्यो । बाटो कोरेर छोडिदिए । हामीले धूलो खानु परेको छ । यसले सबैलाई असर गरेको छ ।’ त्यही बाटोबाट हिंंडडुल गरिरहेका साना बालबालिकाको शिरदेखि पाउसम्म हेर्दा पनि देखिन्छ त्यो क्षेत्रको विकास अधुरो छ, अपुरो छ ।

गौरादह ७ की चन्द्रकला दर्जीको घर अगाडिको बाटो पनि धूलोमय छ । उनले बाटोसँगै आफ्ना पढेलेखेका सन्तानलाई रोजगारी हुनुपर्ने माग गरिन् । ‘३६–३७ वर्ष भइसक्यो भोट हालिरहेकै छौं । अस्ति हाम्रा छोराछोरी जस्तै बच्चा बच्चीलाई गोली लागेर ढलेको देख्दा कति मन रोयो । उनका परिवार कति रोए होलान्,’ उनले विगतको भोट परिवर्तनको संकेत गर्दै भनिन्, ‘हाम्रा छोराछोरी कति पढेर पनि केही रोजगारी पाएका छैनन् । हाम्रा छोराछोरीहरुलाई केही गरेर अगाडि बढाइदिने मान्छे सक्षमलाई चाहिँ हामी भोट दिन्छौँ ।’

दमक ३ ढुकुरपानीका पूर्ण धिमाल सुकुमबासी हुन् । उनको छाप्रोबाट दक्षिण पूर्वमा ठूलो टावर (दमक भ्यू टावर) ठडिएको छ । तर, उनको घर अगाडिको बाटो धुलाम्मे छ । गौरादह–८ की सबिता ताजपुरिया स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने बताउँछिन् । ‘स्वास्थ्य क्षेत्रमा पनि अलि हेरिदियोस् । सरकारी स्कुलमा सबै फ्री फ्री भन्छन्, फ्री चाहिँ केही हुँदैन । नाम लेखाउन पैसै लिन्छन् । एक्जाम फिस भन्दै पैसा नै लिन्छन् । इङलिस मिडियम भन्छन् त्यसबाट पैसा लिन्छन्,’ उनले भनिन् ।

गौरादह ३ का विष्णुप्रसाद पराजुली अवकाश प्राप्त शिक्षक हुन् । उनले राजनीतिक दलले सम्बोधन गर्नुपर्ने विषय बाटोघाटो र विद्युत् नै रहेको दाबी गर्छन् । यस्तै रतुवामा तटबन्ध बनाउनु पर्ने उनको माग छ । ‘किसानलाई राहत केही भएन । मलको कुरामा पनि किसान मारमा परेका छन्,’ उनले थप एजेण्डा सुनाए ।

दमक–३ की मेनुका कार्की (धमला) सुकुमबासी हुन् । ‘सबैलाई यहाँ धनीपुर्जा दिने भनेको अहिलेसम्म धनीपुर्जा दिएको छैन । अनि गुनासो त गुनासै गुनासो छ नि हाम्रो,’ चुनावी घरदैलो कार्यक्रम लिएर पुगेका रास्वपाका नेतालाई उनले भनिन्, ‘हाम्रो बाटोको पानीको निकासै छैन । हाम्रो घरबाट पानी निस्किने त्यहाँ निकासै छैन, ठाउँ नै छैन । बाटो बाटोमा पानी बग्छ । सब अव्यवस्थित छ यहाँ ।’ आफ्नो घर दक्षिणमा रहेको भ्यू टावर देखाउँदै उनले भनिन्, ‘मुखले त जे भन्दा पनि भयो नि । केपी ओलीले त्यहाँ त्यस्तो भ्यु टावर बनाइदिएको त्यही गर्यो, अरू के गर्यो ? हामीलाई के गर्यो ? हामीलाई ५० हजारको टिन दिए, ५ लाख ४ लाख ऋणमा डुबाइदिए । भ्यु टावर बन्दाखेरि सबै इन्डियातिरबाट कता कताबाट मान्छेहरू ल्याएर लगाउनुभयो, तर यहाँको सर्वसाधारणलाई केही कामै दिनुभएन । यहाँ एसईई पढेका, १२ क्लास पढेकालाई यहाँ नेर केही भयो भने यहाँ जागिर दिँदैन । बाहिरका मान्छे ल्याएर लगाउँछ । त्यस्तो छ ।’

दमक ३ का रास्वपाका कार्यकर्ता केशव दाहाल कृषि, पर्यटन, स्वास्थ्यको क्षेत्रमा विकास गर्नुपर्ने बताउँछन् । ‘यो क्षेत्र कृषिको लागि पनि एकदम बेटर ठाउँ हो । दोस्रो कुरा वन यहीँ भएकोले वन विज्ञान क्याम्पसको पनि त्यो प्रोब्याबिलिटी भएको ठाउँ । पर्यटनको लागि पनि केही केही सेक्टरहरू छन् । टावरै यहीँ भए पनि यसलाई अब चेन्ज गरेर मेडिकल कलेज बनाउने कुराहरू पनि छन् । यहाँ रहेका खोलाहरूको संरचना छ, त्यो संरचनामा कोरिडोर जस्तो बाटो बनाएर त्यहाँ बोटिङदेखि लिएर हरेक कुरा गर्ने सम्भावना भएको ठाउँ छ,’ उनले भने ।

दमक ३ ढुकुरपानीकै मान बहादुर भुजेलले पूर्जा नपाएको गुनासो गरे । ‘राम थापाले ६ महिना भित्र धनीपुर्जा दिन्छु भनेर जितेका हुन्, २ वर्ष भइसक्यो केही छैन । अब त नयाँ हेर्नुपर्छ,’ उनले भने, ‘भ्यू टावरलाई हस्पिटल वा कलेज बनाउनुपर्छ ।’ सोही ठाउँका बलभद्र धिमाल र पूर्ण धिमाल पनि बाटोकै समस्या रहेको सुनाउँछन् ।

गएको शनिबार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका १ को सरङपाडा बजार पुगे । त्यसक्रममा उनले स्थानीय र आफ्ना कार्यकर्तासँग केही बेर छलफल गरे ।

छलफल सकेर तरकारी बजारमा खुल्ला रुपमा तरकारी बेचिरहेका व्यापारीलाई तरकारीको भाउ सोधे । ओली तरकारीको भाउ सोधेर निस्किन लागेका थिए केही युवा विद्यार्थीले भेट गर्न खोजे । भेटका क्रममा एक विद्यार्थीलाई ओलीले सोधे, ‘के छ आवश्यकता के चाहिएको छ युवा साथीहरुलाई ? ।’ सोही क्रममा एक युवाले भने, ‘हामीले काम पाएनौं । रोजगार चाहियो ।’ ओलीले लगत्तै भने, ‘ल उद्योग खोलिदिन्छु ।’

ओली र युवा विद्यार्थीहरुसँग भएको उक्त सम्वाद सुनाउँदै सोही ठाउँका ८४ वर्षीय जेष्ठ नागरिक तिलकबहादुर पोखरेलले असन्तुष्टी व्यक्त गरे । ‘बाले के चाहिएको छ भने उनीहरूले जागिर र रोजगारीको लागि माग गरे । उसले उद्योग खोल्दिन्छु भनेर गए,’ पोखरेल भन्छन्, ‘अब के उद्योग खोल्नु । यतिबेर केही गरेको होइन ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।