इटहरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आउन अब करिब २०–२१ दिन मात्र बाँकी रहेको उल्लेख गर्दै घरघर पुगेर कांग्रेसलाई जिताउने अभियानमा लाग्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
मंगलबार सुनसरीको इटहरी र झुम्कामा आयोजित कार्यक्रममा उनले कांग्रेसप्रति जनताले गरेको विश्वासलाई मतमा बदल्नुपर्ने बताए ।
इटहरी पश्चिम लाइनमा कार्यकर्तासँग भेटघाट गर्दै थापाले आगामी निर्वाचन निर्णायक हुने भन्दै संगठनलाई थप सक्रिय बनाउन निर्देशन दिए। सो अवसरमा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, पूर्व केन्द्रीय सदस्य राजीव ढुंगानालगायत कार्यकर्ता तथा समर्थकको उपस्थिति रहेको थियो। इटहरीको कार्यक्रमपछि थापा रामधुनीमा पनि कार्यकर्तासँग भेटघाटमा सहभागी भए।
मंगलबार नै सुनसरीको झुम्कामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले कांग्रेसले बोलेको कुरा पूरा गर्दै आएको तथ्य जनतासमक्ष लैजान नेता–कार्यकर्तालाई आग्रह गरे। “तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ। अब त्यो विश्वासलाई भोटमा परिणत गरिदिनुहोस्,” उनले भने। सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका कांग्रेस नेता राजीव कोइरालालाई अत्याधिक मतले जिताएर संसद्मा पठाउन उनले अपिल गरे।
थापाले राजीव कोइरालामा संसद्मा प्रभावकारी भूमिका खेल्ने क्षमता रहेको उल्लेख गर्दै एक पटक अवसर दिन आग्रह गरे। आफूलाई माया गरेर सभापति बनाएको भन्दै कार्यकर्ताप्रति आभार व्यक्त गर्दै उनले त्यो विश्वास टुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे।
निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गर्दै थापाले बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नुपर्ने धारणा राखे। नेपाली कांग्रेस इटहरीका सचिव विक्रम घिमिरेका अनुसार थापा आजै आफ्नो निर्वाचन क्षेत्र सर्लाही जाने कार्यक्रम रहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।