लोड हुँदैछ...

मेनु

झापा ५ : बालेनको दबदबा

झापा ५ : बालेनको दबदबा

विराटनगर । झापा क्षेत्र नम्बर ५ मा पर्ने गौरादह नगरपालिका ३ को गौरादह बजारका ७२ वर्षीय डिल्लीप्रसाद फुयाँले पान पसल चलाएको वर्षौं भयो । एमालेको गढ भनेर चिनिने गौरादह बजारको चोक पसलमा अहिले पुरानालाई भोट हाल्छु भनेर उभिने कमै भेटिन्छन् ।

विगतमा एमालेलाई नै मत दिइरहेका फुयाँल पनि यस पटक मत बदल्ने सोचमा छन् । ‘यहाँका ठेउके तह लगाउनु पर्छ । बाले हारेपछि तह लाग्छन् । आज पनि बा भोली पनि केपी बा भनेर हुँदैन । यहाँ ठूला मान्छे छन् । गोबर गुइँठा भनेर किन बोल्नु ? सबै मत घट्यो । विकास केही गरेको छैन । कार्यकर्ता पोषेका छन् । झोलेलाई पालेका छन्,’ उनले भने ।

गौरीगञ्ज ५ का खैखाटु ताजपुरिया या रवि कोईरी हुन् अथवा मानिकचन महतो हुन् यस पटक मत बदल्न चाहन्छन् । तर, गौरीगञ्ज ३ ठेकीटोलाकी ५० वर्षीय फागुनी ताजपुरिया भने पुरानै पार्टीलाई मत दिने बताउँछिन् । ‘ट्वाईलेट बनाइदियो, टिना हाल्दियो, कल दियो, ग्याँस दिने भन्दैछन्,’ म त पुरानैलाई भोट दिन्छु ।’

गौरादह ८ शिवु ताजपुरिया र मंगल ताजपुरिया यसअघिका काँग्रेसी हुन् । अहिले नयाँलाई मत दिने उनीहरुको दाबी छ । ‘हामीले पुराना पार्टी हेरिसक्यौँ– एमाले पनि हेर्यौँ, कांग्रेस पनि हेर्यौँ, माओवादी पनि हेर्यौँ । हेर्दा हेर्दा हेर्दा अहिले बच्चाहरुको लागि आफ्नो भविष्यको लागि सुधार्नु पर्छ, देशलाई जोगाउनु पर्छ । राम्रो होस् भनेर विकास होस् भनेर । नयाँलाई मत दिने,’ मंगलले भने, ‘हामीलाई विकास चाहियो ।’

सोही ठाउँका एमाले कार्यकर्ता भद्रसिंह ताजपुरिया भने नयाँको हल्ला धेरै भएपनि मत नआउने बताउँछन् । ‘चुनावअघिका खेल भएकै छैन । अब हुन्छ खेल,’ उनी भन्छन् । तर, सोही ठाउँकी रामवती ताजपुरिया भने विगतमा एक प्याकेट चाउचाउमा पनि भोट विकेको बताउँदै यसपटक मानिस सचेत भएको दाबी गर्छिन् ।

गौरादह ८ कै रूपनारायण घिमिरे ७१ वषका भए । उनलाई पनि मत फेर्नुपर्छ भन्नेहरु धेरै रहेको जस्तो लाग्छ । ‘मत फेर्छु भन्नेहरु धेरै छन् । तर, आफ्नो त हात अन्त जाँदैन,’ उनले भने, ‘घरका छोराछोरी भने अर्कै कुरा गर्छन् ।’ गौरादह ७ का गोविन्द राउत र सौरभ फुयाल पनि मत बदल्ने सोचमा छन् ।

सोही ठाउँका विष्णु पराजुली भने आफ्ना घर परिवारका सबैले पुरानै पार्टीलाई मत दिने दाबी गर्छन् । सोही ठाउँका ७२ वर्षीय बलबहादुर राई, गौरादह ७ की चन्द्रकला दर्जी, गौरादह ३ का भुपाल थापा नयाँलाई मत दिने बताउँछन् ।

दमक ९ का भानेश्वर चौधरी पुरानालाई यसअघि मत दिएको बताउँदै अब नयाँलाई दिने बताउँछन् । दमक ३ का दिपेन्द्र राई, दिलिप ताजपुरिया नयाँलाई मत दिने बताइरहँदा सोही ठाउँका पूर्ण धिमाल, बलभद्र धिमाल भने पुरानो छोड्न नसक्ने बताउँछन् । गौरादह ९ का टिकाराम प्रसाईं हुन् या कमल गाउँपालिका १ का गोपाल ताजपुरिया हुन् । सबै मत बदल्ने चाहनामा छन् । गौरीगञ्ज–५, दाङीटोलका मणीचन्द महतो माहोल नयाँको रहेको बताउँछन् । ‘माहोल त नयाँको चल्दैछ । सबैलाई हेरेँ, कांग्रेसलाई पनि हेरेँ, सूर्यलाई पनि हेरेँ । अब नयाँ आएको छ । पाँच वर्ष त्यसलाई हेर्ने हो ।’

गौरादह ८ का कालीप्रसाद ताजपुरिया पनि मत बदल्ने चाहनामा छन् । ‘यसपालि डाइरेक्ट देखाएरै नयाँलाई भोट हाल्ने हो । यसअघि त हामीले केपीलाई छोडेकै थिएनौ नि । बाउ सरह थियो हाम्रो केपी । अहिले किन नहाल्ने भन्दा हाम्रो केही मत्लबै हुँदैन । केपीले केही पनि गर्दैन । अहिले उसलाई छोडेको छैन तर अब चाहिँ छोड्छौँ । छोडिसकेको छौँ, ठाउँ छोडिसकेको छौँ । पार्टी चाहिँ नछोड्ने भोट चाहिँ यसपालि अन्तै जान्छ,’ उनले भने ।

कमल १ का ७८ वर्षीय डिल्ली बहादुर खड्का भने अब मत नबदल्ने बताउँछन् । ‘९५ प्रतिशत बूढापाकाहरूले पुरानै छोड्दैनन् । म पनि छोड्दिन । युवाहरुले भनेर हुन्छ ? उनीहरु कति नै छन् र ?,’ उनले भने, ‘यहाँ पुराना कै बाहुल्यता रहेको र पुरानैले जित्ने देख्छु म त । ठूला नेताहरूलाई एकपटक अन्तिम मौका दिनुपर्छ र अर्को पटक चाहिँ विदा हुनुपर्छ ।’

सोही ठाउँका ८४ वर्षीय तिलकबहादुर पोखरेल मत बदल्ने बताउँछन् । यसअघि काँग्रेसलाई मतदान गर्दै आएका उनी अब भने नयाँलाई हेर्ने बताउँछन् । कमल १ कै ७० वर्षीय छवि श्रेष्ठ आफूहरू लामो समयदेखि एमालेकै समर्थक रहेको बताउँछन् । पहिलेदेखि नै उनलाई साथ दिँदै आएकाले यसपटक पनि सूर्यलाई नै भोट हाल्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।