लोड हुँदैछ...

मेनु

रास्वपा उम्मेदवारविरुद्ध भ्रामक सामग्री पोस्ट गर्ने एमाले नेता घोषद्वारा माफी, दुई पक्षबीच सहमति

रास्वपा उम्मेदवारविरुद्ध भ्रामक सामग्री पोस्ट गर्ने एमाले नेता घोषद्वारा माफी, दुई पक्षबीच सहमति

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोस्ट गरेका नेकपा एमालेका नेता विप्लव घोषले क्षमायाचना गरेपछि दुवै पक्षबीच सहमति भएको छ ।

सुनसरी क्षेत्र नम्बर ४ का रास्वपा उम्मेदवार दीपक साहलाई लक्षित गरी केही दिनअघि घोषले सामाजिक सञ्जालमा भ्रामक भिडियो पोस्ट गरेका थिए । उक्त विषयलाई लिएर साहले सुनसरी प्रहरीमा उजुरी दिएपछि विवाद प्रहरी कार्यालयसम्म पुगेको थियो ।

प्रहरीको रोहवरमा सोमबार भएको छलफलमा घोषले आफ्नो गल्ती स्वीकार गर्दै सामाजिक सञ्जालबाट उक्त पोस्ट हटाएको र माफी मागेपछि दुवै पक्षबीच सहमति भएको हो ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले भ्रामक पोस्टका विषयमा दुवै पक्षबीच छलफल गराइएको जानकारी दिए । ‘फेसबुकमा राखिएको भ्रामक विषयलाई लिएर घोषले आफ्नो सामाजिक सञ्जालबाट सामग्री हटाएको र माफी पनि मागेपछि सहमति जुटेको हो,’ डिएसपी खड्काले भने ।

घोष नेकपा एमाले सम्बद्ध खेलकुद महासंघका केन्द्रीय सचिव तथा इनरुवा नगरपालिका–३ का बासिन्दा हुन् । प्रहरीका अनुसार घोषले सामाजिक सञ्जालमा गलत भिडियो सामग्री पोस्ट गरी निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार साहविरुद्ध भ्रम फैलाउने प्रयास गरेका थिए । सहमतिसँगै दुवै पक्षबीचको विवाद तत्कालका लागि साम्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।