लोड हुँदैछ...

मेनु

कांग्रेस ‘ऐना पुछेर होइन, अनुहारको दाग मेटेर’ अघि बढ्छ : थापा

कांग्रेस ‘ऐना पुछेर होइन, अनुहारको दाग मेटेर’ अघि बढ्छ : थापा

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका कमजोरीहरूलाई खुला हृदयले स्वीकार गर्दै अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिले सोमबार विराटनगरमा आयोजना गरेको अन्तर्क्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले विगतका गल्ती सच्याएर पार्टीलाई पुनः जनविश्वासको केन्द्रमा लैजाने दावी गरे ।

‘अब कांग्रेस ऐना पुछेर होइन, अनुहारकै दाग मेटेर अगाडि बढ्छ,’ थापाले भने, ‘निर्वाचन जित्नु र सरकारमा टिकिरहनुलाई मात्र सबैभन्दा ठूलो सफलता ठान्नु हाम्रो गम्भीर भूल थियो।’ सत्ताप्राप्तिका लागि जोसँग पनि मिल्ने र जे पनि गर्ने प्रवृत्तिले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता निष्ठावान् नेताहरूले बनाएको कांग्रेसको छविमा आँच पुगेको उनले स्वीकार गरे।

थापाले कम्युनिस्ट पार्टीहरूसँगको अस्वस्थ प्रतिस्पर्धाका कारण कांग्रेसले आफ्नो मौलिकता क्रमशः गुमाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अड्डा, अदालत र संवैधानिक निकायहरूमा दलीय भागबन्डा खोज्ने गल्ती विगतमा भएको बताए । अब यस्ता गल्ती नदोहोर्‍याउने संकल्प आवश्यक रहेको उनको भनाइ छ ।

‘कायरले मात्र आफ्ना कमजोरी लुकाउँछ, साहसीले गल्ती स्वीकार गरेर अघि बढ्छ,’ थापाले भने, ‘अब कांग्रेस नागरिकका माझ नयाँ भरोसाका साथ जान्छ।’ उनले पार्टी बदलिएको घोषणा मात्र पर्याप्त नहुने उल्लेख गर्दै कांग्रेस परिवर्तन हुँदा नागरिकको जीवनमा के फरक पर्छ भन्ने प्रश्नको ठोस उत्तर लिएर कार्यकर्ताहरू टोल–टोल र घरदैलोसम्म पुग्नुपर्नेमा जोड दिए।

देशभरका कार्यकर्तामा नयाँ ऊर्जा सञ्चार भएको उल्लेख गर्दै थापाले त्यो ऊर्जा कोठाभित्र सीमित नराखी आम नागरिकसम्म पुर्‍याउन सबै जिम्मेवार हुनुपर्ने बताए। उनले मुलुकलाई पुनः कुनै पनि प्रकारको द्वन्द्वमा पर्न नदिने मुख्य आधार वर्तमान संविधान नै भएको उल्लेख गर्दै यसको निर्माणको कठिन पृष्ठभूमिलाई नबिर्सन आग्रह गरे। संविधानको रक्षा र पूर्ण कार्यान्वयनमार्फत नागरिकका समस्या समाधान गर्न कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो।

विशेष महाधिवेशनपछि पहिलोपटक विराटनगर आएका सभापति थापा सहभागी कार्यक्रममा नेता डा.शेखर कोइरालासहित पार्टीका अधिकांश नेता र कार्यकर्ता उपस्थित थिए । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।