लोड हुँदैछ...

मेनु

झापा १ मा जनमुक्ति पार्टीका उम्मेदवारको नेकपाका घिमिरेलाई समर्थन

झापा १ मा जनमुक्ति पार्टीका उम्मेदवारको नेकपाका घिमिरेलाई समर्थन

विर्तामोड । झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाल जनमुक्ति पार्टीका खान्द्रु करुवाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अशेष घिमिरेलाई समर्थन गर्ने घोषणा गरेका छन्।

‘घर’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका करुवाले घिमिरेको राजनीतिक एजेन्डा र भिजनसँग आफ्नो सहमति रहेको भन्दै समर्थन जनाएका हुन् ।

करुवाले आज एक भिडियो सन्देश जारी गर्दै आफ्नो उम्मेद्वारी कायम नरहेको भन्दै नेकपाका उम्मेद्वार घिमिरेलाई मतदान गर्न आव्हान गर्नु गरेका छन् । ‘मेरो उम्मेद्वारी फिर्ता लिएको छु,’ भिडियो सन्देशमा उनले भनेका छन्, ‘अब नेकपाको उम्मेद्वार अशेष घिमिरेलाई मतदान गर्न अनुरोध गर्दछु ।’ स्वतन्त्र उम्मेद्वार करुवाले उम्मेद्वारी फिर्ता लिएको भए पनि निर्वाचन आयोगले दिएको उम्मेद्वारी फिर्ता लिने समयमा उम्मेद्वारी कायम राखेकाले मतपत्रमा भने करुवाको चुनाव चिन्ह रहनेछ ।

दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा उनीबाहेक १४ जना चुनावी मैदानमा छन् । क्षेत्रमा एमालेका रामचन्द्र उप्रेती र कांग्रेसका केशवराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका निशा डाँगी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

ठूला दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको झापा–१ मा साना दल र स्वतन्त्र उम्मेदवारहरूको भूमिका निर्णायक मानिन्छ । चुनावी प्रचार अभियानमा दल तथा उम्मेद्वारहरु मतदाताका अहिले घर दैलोसम्म पुगिरहेका छन् ।

झापा १ पुर्वी नेपालको सिमाना क्षेत्र हो । भारतसंग सिमाना जोडिएको मेचीनगर नगरपालिकाको सबै १५ वटा वडाहरु, बुद्धशान्ति गाउँपालिकाको ४ वटा वडा र भद्रपुर नगरपालिकाको २ वटा वडा गरी २१ वटा वडा समेटिएको छ । क्षेत्रमा १ लाख ३१ हजार ६७ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।