इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोस्ट गरेको आरोपमा एमाले सुनसरीका एक युवा नेता पक्राउ परेका छन् ।
पक्राउ पर्ने इनरुवा निवासी विप्लव घोष रहेको बताइएको छ । उनी एमाले सुनसरीका युवा नेता हुन् । घोष नेकपा एमाले आबद्ध खेलकुद महासंघका केन्द्रीय सचिव तथा इनरुवा नगरपालिका–३ का बासिन्दा हुन् ।
प्रहरीका अनुसार घोषले सामाजिक सञ्जालमार्फत सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवारलाई लक्षित गरी भ्रामक भिडियो पोस्ट गरेका थिए । प्रहरीले सामाजिक सञ्जालमा गलत सूचना, झुटा समाचार तथा अफवाह फैलाउने गतिविधिमा संलग्न भएको पाइएकाले घोषलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सामाजिक सञ्जाल तथा विभिन्न पेजहरूलाई विशेष निगरानीमा राखिएको जानकारी दिँदै गलत सूचना र भ्रामक सामग्रीको प्रकाशन तथा प्रसारण नगर्न सबैमा अनुरोध गरेको छ ।
रास्वपा सुनसरीले विज्ञप्ति जारी गर्दै घोषमाथि कारबाहीको माग गरेपछि उनी पक्राउ परेका हुन् । विज्ञप्तिपछि घोषले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका थिए । तर, पछि उनले क्षमायाचनासम्बन्धी पोस्ट हटाउँदै ‘हाइकमाण्डको सल्लाह बमोजिम’ पोस्ट डिलिट गरेको उल्लेख गर्दै आफ्ना कुरा थपेर पुनः स्ट्याटस लेखेका थिए ।
प्रहरीका अनुसार घोषले सामाजिक सञ्जालमा गलत भिडियो सामग्री पोस्ट गरी निर्वाचन क्षेत्र नम्बर ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार दीपक साहलाई लक्षित गर्दै भ्रम फैलाउने प्रयास गरेका थिए। यस प्रकारको गतिविधिले चुनावी वातावरणमा खलल पुर्याउने भएकाले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेले जानकारी दिएका छन।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।