लोड हुँदैछ...

मेनु

लोकप्रियतावादमार्फत लोकतन्त्रमाथि प्रहार भइरहेको छ : प्रचण्ड

लोकप्रियतावादमार्फत लोकतन्त्रमाथि प्रहार भइरहेको छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व साम्राज्यवादले लोकप्रियतावाद (पपुलिजम) मार्फत नेपालको लोकतन्त्रविरुद्ध प्रहार गरिरहेको आरोप लगाएको छ ।

सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले नयाँ शक्तिका नाममा सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ ले मुलुकको हित नगर्ने स्पष्ट पारे । उनले नयाँ भनिएका शक्तिहरूसँग देश विकासका लागि कुनै ठोस योजना र एजेन्डा नभएको टिप्पणी गरे ।

‘सोसियल मिडियामा फन्डा गरे पनि उनीहरूसँग कुनै योजना र एजेन्डा छैन,’ प्रचण्डले भने, ‘विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिजम प्रस्तुत गर्दै लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गरेको छ। नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना (परिघटना) दोहोर्याउने र लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको छ।’

उनले यस्ता वैदेशिक र आन्तरिक चुनौतीहरूको प्रतिवाद गर्न नयाँ संकल्प र समीक्षाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । राष्ट्र र जनताको रक्षाका लागि आवश्यक पर्ने शक्ति निर्माण गर्नकै लागि नेपाली कम्युनिस्ट पार्टी बनाइएको उनको दाबी थियो।

आफ्नो पार्टीसँग मात्र स्पष्ट विचार र एजेन्डा रहेको जिकिर गर्दै प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता र सामाजिक न्यायजस्ता विचार अहिले पनि नयाँ र क्रान्तिकारी छन्, जसको नेतृत्व हाम्रो पार्टीले नै गरिरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।