लोड हुँदैछ...

मेनु

स्थलगत रिपोर्ट : झापा–५

‘गुइँठा’ बाल्नेहरू ओलीसँग असन्तुष्ट

‘गुइँठा’ बाल्नेहरू ओलीसँग असन्तुष्ट

विराटनगर । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू निर्वाचन लड्दै आएको झापा ५ सफा सुघ्घर रहेको र त्यहाँ महोत्तरी, धनुषा जस्तो गुईठा बाल्ने अवस्था नभएको बताएको विषयले नै उनलाई भारी पर्ने देखिएको छ ।

ओलीले केही समय अगाडि एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा आफ्नो क्षेत्रमा गुइँठा बाल्ने नभएको आशय व्यक्त गरेका थिए । ‘दमक सफा नगरहरू मध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ । यो महोत्तरी–धनुषा जस्तो अवस्थामा होइन, त्यो भन्दा धेरै एड्भान्स छ,’ उनले आफ्ना प्रतिस्पर्धी रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहप्रति इंगित गर्दै भनेका थिए, ‘सफा–सुग्घर बेग्लै छ । उहाँ त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा… उहाँले खै यहाँ गुइँठा बाल्न सिकाउनु हुन्छ कि के गर्नु हुन्छ, मलाई थाहा छैन । यो ठाउँ त धेरै एड्भान्स छ नि…। उहाँले यहाँबाट सिक्नु पर्छ, यहाँ केही गर्ने भन्दा पनि । सिकेको त काठमाडौँमै देखिन्छ नि… ।’

ओलीको त्यही बोलिले सो क्षेत्रको गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकाका आदिवासी ताजपुरिया, राजवंशीलगायतका समुदाय असन्तुष्ट बनेको पाइयो । त्यहाँका स्थानीयले त बालेन्द्र शाहकी पत्नी सविना काफ्लेलाई गुइँठा उपहार नै दिए । ‘यो हाम्रो परम्परा हो । कसैले हाम्रो गुइँठाको लागि गुनासो गर्नुभएको छ, त्यसैले हामीले बालेन शाहको श्रीमतीलाई यो उपहार दिन खोजेका हौँ,’ गुइँठा उपहार दिँदै गर्दा एक महिलाले भनिन् ।

गौरीगञ्जका एमाले समर्थक डिल्ली ढुंगाना केपी शर्मा ओलीले गुइँठाको विषयमा बोलेको विषयले असर गरेको बताए । ‘नबोल्नु पर्ने कुरा बोल्नुभयो । हामी पनि गुइँठा बाल्न थालेका छौंं । बाल्दै आएकाहरु त रिसाउने भइगए नी,’ ढुंगानाले भने ।

गौरादह ८ का कालिप्रसाद ताजपुरियाले गुइँठा उर्जाका लागि मात्रै नभएर पूजा पाठमा धूप बाल्न पनि प्रयोग गरिने बताए । ‘कार्तिकदेखि गुइँठा बनाउन सुरु हुन्छ । यो वैशाखको लास्ट लास्टसम्म बनाको बनाई हुन्छ । पानी पर्न थाल्यो भने अनि यो मलखाडीमा थुपार्ने अनि पछि खेतको लागि कति के बच्छ गोबर अनि त्यही हो हाम्रो काम,’ उनले भने, ‘पूजापाठको लागि धूप बाल्नलाई गुइँठाको आगो भए झन् राम्रो । जुनसुकै पूजापाठमा, मरे–मराउमा पनि, बिहे–शादीमा पनि, सत्यनारायणको पूजा लाउँदा पनि यसको आगो अनि धूप चाहिन्छ ।’ उनले आफूहरुको परम्परा र संस्कृतिसँग सम्बन्धीत विषयमा अपमानजनक ढंगले बोलेका विषयमा उनलाई मन परेको छैन ।

गौरादह १, २, ३, ७ र ८ नम्बर वडा तथा गौरीगञ्जका प्राय सबै वडा पुग्दा त्यहाँ गुइँठा बनाएर र सुकाइरहेको प्रसस्तै देख्न सकिन्छ । गुइँठा गाई, गोरु तथा भैँसीको गोबरमा भुस, पराल मिलाएर बनाइन्छ । यसरी बनाइएको गुइँठालाई घाममा सुकाएर बाल्नयोग्य बनाइन्छ । स्वास्थ्यका दृष्टिले गुइँठा बाल्नु राम्रो मानिँदैन । आगो छिटो नसल्कने, आगो सल्के पनि धुवाँ बढी फाल्नेलगायतका कारणले यसले स्वास्थ्यमा गम्भीर असर पार्छ । जसकारण श्वासप्रश्वास, क्षयरोग र मोतियाबिन्दुजस्ता दीर्घकालीन रोग लाग्ने जोखिम बढ्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।