विराटनगर । कोशी प्रदेश सभाको आठौँ अधिवेशनको पहिलो बैठकमा सत्तारुढ दल नेकपा (एमाले) का संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले राष्ट्रियताको सवालमा गम्भीर प्रश्न उठाउँदै सरकार र बाह्य हस्तक्षेपको कडा आलोचना गरेका छन् ।
बैठकमा दलको तर्फउबाट बोल्दै नेता मेन्याङ्बोले सङ्घीय राजधानी काठमाडौँमा फ्रि तिब्बतका अभियन्ताहरूलाई राजकीय सम्मानका साथ अवतरण गराइएको विषयलाई लिएर आपत्ति प्रकट गरेका हुन् ।
नेता मेन्याङ्बोले मुलुकमा वैदेशिक शक्तिको चलखेलले सीमा नाघेको दाबी गरे । उनले फ्रि तिब्बतका अभियन्ताहरूलाई राज्यले जुन किसिमको स्वागत र सम्मान दियो, त्यसले नेपालको असंलग्न परराष्ट्र नीति र छिमेकी राष्ट्रसँगको सम्बन्धमा ठूलो धक्का पुगेको तर्क गरे ।
‘काठमाडौँको विमानस्थलमा फ्रि तिब्बतका अभियन्ताहरूलाई राजकीय सम्मानका साथ स्वागत गरिनु सामान्य घटना होइन,’ मेन्याङ्बोले भने ‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालका बारेमा आइरहेका पछिल्ला लेखहरू र यहाँ भइरहेका गतिविधिहरूले नेपाललाई अर्को युक्रेन बनाउने ठूलो भू–राजनीतिक षड्यन्त्र भइरहेको संकेत गर्दछ। बाह्य शक्तिहरूको क्रिडास्थल बनेर मुलुकको सार्वभौमसत्ता संकटमा पर्नु चिन्ताको विषय हो।’
प्रतिपक्षी दलहरूले सरकारको कुशासन र अहंकारका कारण आन्दोलन भएको दाबी गरिरहँदा मेन्याङ्बोले भने वर्तमान कांग्रेस–एमाले गठबन्धन राष्ट्रियता जोगाउनका लागि अपरिहार्य रहेको जिकिर गरे । उनले भने, ‘आजको मुख्य चुनौती भनेको मुलुकको अस्तित्व र राष्ट्रियताको रक्षा हो । यस्तो संवेदनशील समयमा देशका दुई ठूला दलहरू मिल्नुको विकल्प छैन । यो गठबन्धन केवल सत्ताका लागि मात्र होइन, बाह्य शक्तिहरूको षड्यन्त्रलाई चिर्न र मुलुकलाई दुर्घटनाबाट बचाउन बनेको हो।’
नेता मेन्याङ्बोले हालै भएको जेन–जी आन्दोलन र त्यसका क्रममा भएको भौतिक क्षतिको पछाडि पनि कतै न कतै बाह्य तत्वहरूको उक्साहट हुन सक्ने आशंका व्यक्त गरे । सिंहदरबार र संसद् भवन जस्ता ऐतिहासिक संरचनामा भएको क्षतिलाई उनले व्यवस्था विरोधी मात्र नभई राष्ट्रियता माथिको प्रहारका रूपमा चित्रण गरे । उनले भने, ‘जनताको असन्तुष्टिलाई ढाल बनाएर मुलुकलाई अस्थिरता तर्फ धकेल्ने प्रयास भइरहेको छ, यसमा सबै राजनीतिक दल सचेत हुनुपर्छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।