विराटनगर । कोशी प्रदेश सभाको आठौँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल ‘नेपाली कम्युनिस्ट पार्टी’ का नेता इन्द्रबहादुर आङ्बोले सरकारको कडा आलोचना गरेका छन् ।
विशेष समयमा बोल्दै नेता आङ्बोले वर्तमान सत्तापक्षको अहंकार र कुशासनका कारण मुलुक गम्भीर संकटमा फसेको आरोप लगाए ।
हालैको ‘जेन–जी’ विद्रोहको भयावह तथ्याङ्क प्रस्तुत गर्दै आङ्बोले आन्दोलनका क्रममा ७६ जना बालबालिकाको ज्यान गएको र ८४ अर्बभन्दा बढीको भौतिक क्षति भएको भन्दै उनले भने “सिंहदरबार र संसद् भवन जल्ने स्थिति आउनु र प्रधानमन्त्रीले नै हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि सुखद संकेत होइन,” “दुई ठूला दल (कांग्रेस र एमाले) को दुई–तिहाइको दम्भले जनताको आक्रोशलाई सम्बोधन गर्न सकेन, जसका कारण युवाहरू सडकमा उत्रिन बाध्य भए ।”
नेता आङ्बोले सरकारले सुशासनको कुरा गरे पनि व्यवहारमा भ्रष्टाचार र बेथिति मौलाएको दाबी गरे । उनले मन्त्रालयहरूमा भएका विभिन्न आर्थिक ‘स्क्यान्डल’ बारे मुख्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग समेत गरे । सांसदहरूको सेवा सुविधा (स्वकीय सचिव) कटौती गरिएकोमा आपत्ति जनाउँदै उहाँले सरकारले फजुल खर्च नियन्त्रण भन्दा पनि सस्तो लोकप्रियताका लागि काम गरिरहेको टिप्पणी गरे ।
“अब हिजोका गलत प्रवृत्तिलाई ढाकछोप गरेर अघि बढ्ने ठाउँ छैन,” आङ्बोले चेतावनी दिँदै भने, “सरकारले गम्भीर आत्मसमीक्षा गरोस् र सुशासनको पक्षमा व्यवहारिक कदम चालोस्, अन्यथा जनताको वितृष्णाले वर्तमान व्यवस्थालाई नै अप्ठ्यारोमा पार्न सक्छ।” उनले आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा तत्काल ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।