विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर १ को चुनावी सरगर्मी निकै रोचक देखिएको छ । यद्यपि राष्ट्रिय स्तरमा ‘हेभिवेट’ भनिएका चर्चित अनुहारहरु चुनावी मैदानमा नहुँदा राष्ट्रिय सञ्चारमाध्यममा यस क्षेत्रको चर्चा केही ओझेलमा परेको देखिन्छ । तर, स्थानीय स्तरमा भने यो निर्वाचन क्षेत्र कसले बाजी मार्ला भन्ने विषय निकै पेचिलो र कौतुहलपूर्ण बनेको छ । यहाँ प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु आफ्नै क्षेत्रमा स्थापित र प्रभावशाली भएकाले पनि चुनावी माहोल उत्तिकै तातेको छ ।
उत्तर–पूर्वी मोरङको यो क्षेत्र भौगोलिक र राजनीतिक दुवै हिसाबले महत्वपूर्ण छ । झापा निर्वाचन क्षेत्र नम्बर १ देखि सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ को सीमानासम्म फैलिएको यो क्षेत्रमा ४ वटा पालिकाका कुल ३७ वटा वडाहरु समेटिएका छन् । यसमा उर्लाबारी नगरपालिकाका ९, मिक्लाजुङ गाउँपालिकाका ९, लेटाङ नगरपालिकाका ९ र केराबारी गाउँपालिकाका १० वटा वडा रहेका छन् । कुल १ लाख २८ हजार ५४५ मतदाता रहेको यस क्षेत्रमा सबैभन्दा धेरै मतदाता उर्लाबारी नगरपालिकामा (४९ हजार ३९९) रहेका छन् ।
विशेषगरी नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष समेत रहेका घनश्याम खतिवडाका लागि यो निर्वाचन एक सामान्य प्रतिस्पर्धा मात्र नभएर उनको राजनीतिक जीवनकै ‘अग्निपरीक्षा’ र ‘अन्तिम लडाइँ’ जस्तै बनेको छ । कुनै समय शिक्षक रहेका खतिवडा जननेता मदन भण्डारीको आग्रहमा जागिर छाडेर राजनीतिमा होमिएका थिए । एमालेको बलियो सांगठनिक आधार र आफ्नो व्यक्तिगत प्रभाव जोगाउन खतिवडा कडा मिहिनेत गरिरहेका छन् । तर, पटक–पटक उही अनुहार दोहोरिएको भन्दै दलभित्रै र बाहिर पनि उनीप्रति केही प्रश्न र नयाँ अनुहारको चाहना राख्ने मतदाताको चुनौती उनी सामु देखिन्छ ।
यता, नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका खड्ग फागो उर्लाबारीका पूर्वप्रमुख हुन् । युवाहरुका माझ फागोको आफ्नै बलियो जातीय र सांगठनिक पकड छ । त्यस्तै, नेकपाका उम्मेदवार कुलप्रसाद साम्बा (कुशल लिम्बू) पनि यस क्षेत्रका लागि परिचित नाम हो । मिक्लाजुङ निवासी साम्बाले विगतमा विकास निर्माणमा पुर्याएको योगदान र उनको सरल स्वभावले त्यस भेगका मतदातामा सकारात्मक प्रभाव पारेको छ ।
यसपटक मोरङ–१ को चुनावी नतिजालाई प्रभावित पार्ने अर्को मुख्य कारकका रुपमा नयाँ शक्तिहरुको उदय भएको छ । झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चामा रहेका बालेन साह सम्मिलित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का यज्ञमणि न्यौपानेको उम्मेदवारीले पुराना दलहरुलाई झस्काएको छ । काठमाडौँका मेयर बालेन साहको ससुराली घर उर्लाबारीमा भएका कारण त्यहाँ बालेनको क्रेज र रास्वपाको ‘घण्टी’ प्रतिको आकर्षणले परम्परागत मत काटिने सम्भावना प्रबल छ ।
अर्कोतर्फ, धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पनि यहाँ निर्णायक भूमिका खेल्न सक्ने देखिएको छ । केराबारी र लेटाङ जस्ता क्षेत्रमा यो पार्टीको प्रभाव बढ्दो छ । लेटाङकी स्थानीय र आदिवासी जनजाति महिला नेतृ शान्ती पाख्रिन श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेपछि उनले एमाले र कांग्रेस दुवैको परम्परागत मत तान्ने देखिन्छ । लेटाङमा भएको पार्टीको विशाल आमसभाले पनि यसको संकेत गरिसकेको छ । यसबाहेक राप्रपाका पूर्णबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी दिलकुमारी लावतीले पनि उल्लेख्य मत काट्ने अनुमान गरिएको छ ।
झापाको निर्वाचनको हावा र सुनसरीको राजनीतिक प्रभावको संगमस्थलका रुपमा रहेको मोरङ–१ मा यसपटक बहुकोणीय प्रतिस्पर्धा हुने देखिन्छ । एकातिर एमाले र कांग्रेसका पुराना गढ जोगाउने चुनौती छ भने अर्कोतिर नयाँ पार्टीहरुको उभारले पुराना शक्तिलाई स्तब्ध बनाउने सम्भावना छ । परम्परागत शक्ति र नयाँ वैकल्पिक शक्तिबीचको यो टक्करले मोरङ–१ मा कसले बाजी मार्छ भन्ने कुरा मतदानको अन्तिम परिणाम नआएसम्म अनुमान गर्न कठिन छ । पाँच वटा मुख्य शक्तिबीचको यो भिडन्तले मोरङ–१ लाई आगामी निर्वाचनको रोचक केन्द्रविन्दु बनाएको छ ।
निर्वाचन क्षेत्र विवरण :
- उर्लाबारी नगरपालिका: ९ वटा वडा (१ देखि ९ सम्म)
- मिक्लाजुङ गाउँपालिका: ९ वटा वडा (१ देखि ९ सम्म)
- लेटाङ नगरपालिका: ९ वटा वडा (१ देखि ९ सम्म)
- केराबारी गाउँपालिका: १० वटा वडा (१ देखि १० सम्म)
- कुल वडा संख्या: ३७
- कुल मतदाता: १,२८,५४५




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।