काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालयले आज एक सूचना जारी गर्दै भोलि आइतबार बिहान साढे ८ बजेका लागि बैठक आह्वान गरेको हो। समय र परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै यो बैठक भर्चुअल माध्यम जुम बाट सञ्चालन हुने तय गरिएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई सहभागी हुन अनुरोध गरिएको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा विशेषगरी तीनवटा मुख्य एजेन्डाहरूमाथि छलफल र निर्णय हुनेछ। बैठकमा आगामी निर्वाचनलाई लक्षित गरी तयार पारिएको ‘नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वाचन परिचालन निर्देशिका–२०८२’ र पार्टीका सार्वजनिक कार्यक्रमहरूलाई थप व्यवस्थित र मर्यादित बनाउन ल्याइएको ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२’ का विषयमा विस्तृत छलफल गरिनेछ।
त्यसैगरी, बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासन कायम राख्नका लागि केन्द्रीय अनुशासन समिति गठन गर्ने सम्बन्धमा पनि ठोस निर्णय लिइनेछ। प्रतिनिधिसभाको आसन्न निर्वाचन र पार्टीको आन्तरिक संगठन सुदृढीकरणका दृष्टिले यो बैठकलाई निकै महत्त्वपूर्ण मानिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।