विराटनगर । विद्यार्थीहरूमा रहेको किताबी ज्ञानलाई सीप र उद्यमशीलतासँग जोड्दै उनीहरूलाई स्वदेशमै स्वरोजगारका अवसर पहिल्याउन प्रेरित गर्ने उद्देश्यले विराटनगरमा ‘बिजनेस एट स्कुल’ कार्यक्रम सञ्चालन गरिएको छ । उद्योग संगठन मोरङको आयोजनामा सत्य नारायण माध्यमिक विद्यालयमा सम्पन्न यस कार्यक्रमले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई प्रयोगात्मक सीपतर्फ आकर्षित गर्ने प्रयास गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरूलाई इन्टरनेट अफ थिंग्स (IoT), इण्डस्ट्रिज अटोमेशन, सिसीटिभी क्यामेरा सेटअप, मोबाइल तथा ल्यापटप मर्मत जस्ता विषयमा ‘टेस्ट द ट्रेनिङ’ मार्फत प्रत्यक्ष अनुभव गराइएको छ । विद्यार्थीहरूलाई प्रविधिसँग जोड्न भीआर (VR) मार्फत भर्चुअल उद्योग भ्रमण र अनलाइन करियर काउन्सेलिङको समेत व्यवस्था मिलाइएको थियो ।
उद्योग संगठन मोरङका उपाध्यक्ष सुरेन्द्र गोल्छाले विद्यार्थीमा रहेको अन्योलता चिर्दै स्थानीय तहमा रहेका सम्भावनाहरू स्पष्ट पार्न यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीको रुचि र क्षमता पहिचान गरी उनीहरूलाई जीवनमुखी शिक्षातर्फ डोहोर्याउनु हाम्रो मुख्य लक्ष्य हो ।”
त्यस्तै, विद्यालयका प्रधानाध्यापक मनोज भट्टराईले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई स्वदेशमै सफल उद्यमी बन्न सकिन्छ भन्ने आत्मविश्वास र अवसर देखाउने विश्वास व्यक्त गर्नुभयो । संगठनका इण्डष्ट्रि एकेडेमिया लिङ्केज कमिटीका संयोजक सृजन प्याकुरेलले कक्षाकोठाको सिकाइलाई व्यावसायिक सोचमा बदल्न यस पटक १६ वटा उद्योगको प्रदर्शन र आधुनिक प्रविधिको प्रयोग गरिएको जानकारी दिनुभयो ।
इन्स्योर र एन.भि.क्यू.एस परियोजनाको प्राविधिक सहयोगमा सञ्चालित यस अभियानलाई आगामी दिनमा अन्य विद्यालयहरूमा पनि विस्तार गर्दै लैजाने संगठनले जनाएको छ । यस प्रयासले युवाहरूलाई सीपयुक्त बनाई देशको आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।