काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनको आरोपमा स्पष्टीकरण सोधेकामध्ये २४ जना उम्मेदवार तथा राजनीतिक दलले जवाफ बुझाएका छन् ।
आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा ३४ जनालाई स्पष्टीकरण सोधिएकोमा हालसम्म २४ जनाले आफ्नो प्रस्टीकरण बुझाएका हुन् ।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ‘आयोगले ३४ वटा राजनीतिक दल र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको छ ।
आयोगले प्राप्त भएका स्पष्टीकरणहरूको अध्ययन भइरहेको र निर्वाचन आचारसंहिता एवं निर्वाचन कसुर तथा सजाय ऐनको व्यवस्था अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको समेत जानकारी दिएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले आचारसंहिता पालनामा कडाइ गर्दै आएको छ । निर्वाचन नजिकिँदै गर्दा आयोगले अनुगमन र उजुरीउपरको छानबिनलाई तीव्र पारेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।