लोड हुँदैछ...

मेनु

उम्मेदवारले स्वेच्छिक सहयोग लिन पाउने, तर तोकेर चन्दा माग्न नपाइने

उम्मेदवारले स्वेच्छिक सहयोग लिन पाउने, तर तोकेर चन्दा माग्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरूले आफ्ना शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग संकलन गर्न कुनै बाधा नपर्ने जानकारी दिएका हुन् ।

प्रवक्ता भट्टराईका अनुसार उम्मेदवार वा दलले स्वेच्छिक सहयोग लिन पाए पनि कसैलाई निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन् । उनले उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने र उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रष्ट पारेका छन् ।

‘निर्वाचनका लागि शुभेच्छुक र समर्थकबाट सहयोग लिने विषयमा चन्दा ऐन र निर्वाचन कानुन आकर्षित हुन्छ,’प्रवक्ता भट्टराईले भने, ‘उम्मेदवारले मलाई यति नै सहयोग दिनुपर्छ भनेर कसैलाई बाध्य पार्न वा तोक्न पाइँदैन । तर, कसैले स्वेच्छाले दिन चाहन्छ भने निर्वाचन प्रयोजनका लागि खोलिएको खाता नम्बर दिएर सहयोग लिन सकिन्छ ।

यसैबीच, निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्यलाई तीव्र गतिमा अगाडि बढाएको छ । प्रवक्ता भट्टराईका अनुसार हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाइ भइसकेको छ । छापिएका मतपत्रहरूमध्ये ७ हजार १३७ वटा बाकसहरू प्याकिङ समेत भइसकेका छन् ।

आयोगले हालसम्म ३२ वटा जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ र प्याकिङ कार्य पूर्ण रूपमा सम्पन्न गरिसकेको छ । बाँकी जिल्लाहरूको मतपत्र छपाइ र व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।