लोड हुँदैछ...

मेनु

उम्मेदवारले मागे सुरक्षा,सिडियोले जवाफमा सुनाए ‘अण्डाको कथा’

उम्मेदवारले मागे सुरक्षा,सिडियोले जवाफमा सुनाए ‘अण्डाको कथा’

विराटनगर । निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङको चुनावी मैदानमा रौनक मात्र बढेको छैन, उम्मेदवारहरूमा सुरक्षालाई लिएर चिन्ता र संशय पनि चुलिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले क्षेत्र नं. ६ का उम्मेदवारहरूसँग आयोजना शुक्रबार गरेको अन्तरक्रिया कार्यक्रममा केहि उम्मेदवारहरुले भोट माग्ने जान सक्ने अबस्था नरहेको भन्दै सुरक्षा प्रत्याभुती दिलाउन माग गरेका थिए ।
अन्तरक्रियाको सुरुवातमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले निकै गम्भीर र भावुक प्रश्न उठाइन् । उनले आफू एक महिला उम्मेदवार भएकाले अन्यको तुलनामा बढी सुरक्षा थ्रेट महसुस गरिरहेको बताइन् । ‘म घरदैलो गरिरहँदा मेरो घर–परिवारको जिम्मा कसले लिने ? कतिपय ठाउँमा त भोट हाल्नै नपाउने जस्तो अवस्था सिर्जना भइरहेको छ,’ आचार्यले प्रशासनलाई प्रश्न गर्दै भनिन्, ‘प्रशासनको अमूर्त आश्वासनले मात्र हामी ढुक्क हुन सक्दैनौँ, हामीलाई ठोस सुरक्षा योजना र अनुसन्धानको कार्यविधि (प्रिलिमिनरी इन्भेस्टिगेसन अप्रोच) चाहियो ।’ उनले चुनाव जित्ने–हार्ने भन्दा पनि सुरक्षित रूपमा मतदाताको घरसम्म पुग्ने वातावरण नै नभएको गुनासो गरिन् ।

आचार्यको कुरामा राप्रपाका उम्मेदवार शबिन निरोलाले पनि सहमति जनाए । उनले प्रशासनको कार्यशैलीमाथि नै प्रश्न उठाउँदै सुरक्षा संयन्त्रले ठूला दलका उम्मेदवारलाई मात्रै काखि च्यापेको र साना दलका उम्मेदवारलाई बेवास्ता गरेको आरोप लगाए । उता माओवादीका गंगा गिरीले भने सुरक्षाको अर्को पाटो कोट्याए । उनले निर्वाचनको मौन अवधिमा हुने ‘मासुका पोका’ को राजनीति र आर्थिक चलखेललाई रोक्न प्रशासनको तयारी के छ भन्दै प्रश्न गरे । यस अगाडीका चुनावमा मासुका पोका घरघरमा केहि दलहरुले छोडने गरेको भन्दै यसपटक त्यस्ता गतिविधि रोक्न के के छन योजना भनेर मागेका थिए ।

जसपाका चुनावी कमाण्डर महेश कुमार यादव र स्वतन्त्र उम्मेदवार उत्तम दाहालले पनि राज्यका निकाय र सञ्चारमाध्यमले समेत ठूला भनिएका उम्मेदवारलाई मात्र प्राथमिकता दिएर सानालाई उपेक्षा गरेको भन्दै असन्तुष्टि पोखे ।

उम्मेदवारहरूले सुरक्षाको प्रश्न उठाउँदै प्रशासनलाई घेरा हालेपछि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निकै रोचक शैलीमा जवाफ दिए । उनले उम्मेदवारहरूलाई एउटा श्रीमान्–श्रीमतीको कथा सुनाउँदै प्रशासनको बाध्यता र उम्मेदवारको असन्तुष्टिलाई तुलना गरे । कट्टेलले भने, ‘हाम्रो अवस्था कस्तो भयो भने, श्रीमतीले अण्डाको अमलेट बनाएर ल्याउँदा श्रीमान्ले उसिनेको (बोयल) गर्नुपथ्र्यो भन्ने र उसिनेर ल्याउँदा यो अमलेट गर्नुपथ्र्यो भन्ने !’ उनले घुमाउरो पारामा प्रशासनले जति नै काम गरे पनि उम्मेदवार र राजनितिक दलहरुले जहिले पनि केही न केही खोट देख्ने र असन्तुष्ट हुने अवस्था देखिया बताएका थिए । उनले आफूहरू ‘रेफ्री’ को भूमिकामा रहेको र १३–१४ लाख नागरिकको सुरक्षाको दायित्व बोकेको प्रहरी प्रशासनलाई शंकाको दृष्टिले मात्रै नहेर्न आग्रह गरे । उनले नागरिकको मत सुरक्षित राख्ने जिम्मा प्रशासनको भएको भन्दै धेरै संशय नगर्न उम्मेदवारहरूलाई अनुरोध गरे ।

प्रहरी उपरीक्षक कवित कट्वालले पनि सुरक्षा चुनौतीलाई स्वीकार गर्दै ढाडस दिने प्रयास गरे । उनले साइबर थ्रेट, अवाञ्छित प्रचार र आपराधिक गतिविधिको जोखिम रहेको स्विकार्दै सूक्ष्म ढंगले सुरक्षाकर्मी परिचालन भएको बताए । यद्यपि, उनले एउटा तीतो यथार्थ पनि सुनाए— प्रशासनले सबै उम्मेदवारलाई व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) दिन सक्ने अवस्था छैन । हतियार लुटिएका र कैदीबन्दी भागेका जस्ता गम्भीर सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा रणनीति बनाएको उनले दाबी गरे ।
मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् भने १२० जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।