मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी निकै बढेको छ। नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका कोशी प्रदेशका पूर्वमन्त्री जीवन घिमिरे यतिबेला घरदैलो र मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ। एमाले मोरङका इन्चार्जसमेत रहनुभएका घिमिरेसँग निर्वाचनको तयारी, अन्य दलका उम्मेदवारसँगको प्रतिस्पर्धा र मतदाताको मनोविज्ञानका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:
यतिबेला चुनावी सरगर्मी निकै बढेको छ, घरदैलोमा जाँदा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
अहिले औपचारिक रूपमा प्रचार–प्रसारको चटारो सुरु भइसकेको छ । सबै उम्मेदवारहरू जनसम्पर्कमा हुनुहुन्छ। हामीले घरदैलोमा जाँदा मतदातामा निकै उत्साह र आकर्षण देखेका छौँ । सामाजिक सञ्जालमा जे–जस्ता कुराहरू देखिए पनि गाउँघरमा मतदाताहरू आफ्नो पार्टी र विचारप्रति प्रतिबद्ध हुनुहुन्छ । एमालेप्रतिको विश्वास र उत्साह झन् बढेको मैले पाएको छु ।
विगतका निर्वाचन र यसपटकको निर्वाचनमा के फरक देख्नुहुन्छ ? यसपटकको मुख्य चुनौती के हो ?
यसपटकको चुनाव विगतका चुनावहरूभन्दा निकै भिन्न र निर्णायक छ । यो चुनाव राष्ट्रवादी शक्ति र अन्य शक्तिहरूबीचको प्रतिस्पर्धा हो । देशलाई जोगाउन र समृद्ध बनाउन राष्ट्रवादी शक्तिलाई जिताउनुपर्छ भन्ने जनमत निकै बलियो भएर आएको छ । त्यसैले, वैचारिक र राष्ट्रिय स्वाधीनताका हिसाबले यसपटकको चुनाव निकै महत्त्वपूर्ण छ ।
अहिले ‘जेनजी’ (Gen Z) आन्दोलन र सामाजिक सञ्जालमा पुराना दल, विशेषगरी एमाले र केपी ओलीमाथि निकै प्रश्न र दबाब देखिएको छ नि ? यसलाई कसरी चिर्नुहुन्छ ?
हो, तपाईँले भन्नुभएको कुरामा केही सत्यता छ । अहिले सबै कुराहरू एमाले र एमालेको नेतृत्वलाई केन्द्रमा राखेर प्रहार गर्ने कोसिस भइरहेको छ । तर, यो सबै नियोजित रूपमा गरिएको हो । हामीले जनस्तरमा पुगेर वास्तविकता बुझाइरहेका छौँ । केही भ्रमहरू छर्न खोजिएको छ, तर मतदाताहरू सचेत हुनुहुन्छ । हामी हाम्रा काम र योजनामार्फत यो दबाबलाई चिर्दै जनमत आफ्नो पक्षमा पार्न सफल हुनेछौँ ।
तपाईँका प्रतिस्पर्धीमा नेपाली कम्युनिष्ट पार्टीबाट अमनलाल मोदी र नेपाली कांग्रेसबाट गुरुराज घिमिरे हुनुहुन्छ, यो हेभीवेट प्रतिस्पर्धामा तपाईँको जितको आधार चाहिँ के हो ?
पहिलो कुरा त मेरो राजनीतिक पृष्ठभूमि र लोकतान्त्रिक आन्दोलनमा गरेको योगदान नै हो । मेरो जुन तहको योगदान छ, त्यो अन्य साथीहरूसँग तुलना हुनै सक्दैन । दोस्रो, नेकपा एमालेको प्रष्ट भिजन र मिसन छ। तेस्रो, हाम्रो बलियो सङ्गठनात्मक सञ्जाल र विगतमा एमालेका प्रतिनिधिले गरेका कामहरूको फेहरिस्त जनतामाझ छ । मैले दशकौँदेखि यस क्षेत्रको दुःख–सुखमा साथ दिएको छु, हरेक टोल र बस्तीमा पुगेर काम गरेको छु। त्यसैले जनताले मलाई नै विश्वास गर्ने आधारहरू प्रशस्त छन् ।

अघिल्लो कार्यकालमा यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि (अमनलाल मोदी) को कामलाई जनताले कसरी लिएका छन् ?
जनचाहना सबै पूरा हुन सक्दैनन्, त्यो स्वाभाविक हो । तर, जनतामा एक खालको असन्तुष्टि भने पक्कै छ । मैले राजकीय जिम्मेवारीमा रहँदा र नरहँदा पनि यस क्षेत्रको विकासका लागि जुन योगदान पुर्याएँ, त्यसको सर्वत्र प्रशंसा भइरहेको छ । जनताले अहिले तुलना गरिरहनुभएको छ— कसले बढी काम गर्यो र कसले जनताको मुद्दालाई बढी प्राथमिकता दियो भनेर ।
निर्वाचित भएपछि तपाईँका मुख्य प्राथमिकताहरू के–के हुनेछन् ?
मेरो मुख्य जिम्मेवारी विधायिकी हुनेछ, अर्थात् समाजवादको लक्ष्य हासिल गर्न आवश्यक पर्ने ऐन, कानुन र नियमहरू बनाउने । यसबाहेक, यस क्षेत्रका जनताका दैनिक समस्याहरू, सुकुम्वासी समस्या, डुबान, कृषि अनुदान र पूर्वाधार विकासका मुद्दाहरूलाई मैले नजिकबाट बुझेको छु । ती समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गर्ने र जनताको जीवनस्तर सुधार्ने मेरो मुख्य योजना रहनेछ ।
पार्टीभित्रको आन्तरिक व्यवस्थापन र गुटबन्दीले चुनावमा असर गर्दैन ?
महाधिवेशनका बेला केही प्यानलहरू देखिए पनि अहिले पार्टी पूर्ण रूपमा एकताबद्ध छ । मोरङको इन्चार्ज र सिनियर नेताको हैसियतले पार्टीलाई एक ढिक्का बनाएर लैजाने जिम्मेवारी मेरो हो । अहिले छ वटै निर्वाचन क्षेत्रमा एमाले एकजुट भएर लागेको छ । कतै पनि कुनै खालको विवाद वा असन्तुष्टि छैन, सबै कार्यकर्ताहरू एमालेलाई जिताउन दत्तचित्त भएर लाग्नुभएको छ ।
अहिलेको महँगी र बेरोजगारीले गर्दा जनतामा राजनीतिप्रति नै वितृष्णा छ, उनीहरूलाई कसरी आशावादी बनाउनुहुन्छ ?
जनतामा निराशा पैदा गर्ने नियोजित कोसिस भइरहेको छ । विगतमा भएका राम्रा कामहरूलाई लुकाएर केही भएकै छैन भन्नु गलत हो । हामीले गरेका विकासका कामहरू र भावी योजनाहरू जनतामाझ लैजाँदै छौँ । एमालेको नेतृत्वमा मात्रै देशमा समृद्धि सम्भव छ भन्ने कुरा जनताले बुझेका छन् । त्यसैले हामी जनतामा नयाँ आशा र विश्वास जगाउन सफल हुनेछौँ ।
अन्त्यमा, ‘नयाँ भर्सेज पुराना’ भन्ने बहसलाई कसरी हेर्नुहुन्छ र मतदातालाई के भन्न चाहनुहुन्छ ?
अहिले समाजमा पुस्तान्तरणको नाममा घर–घरमा विभाजन ल्याउने कोसिस भइरहेको छ, जुन गलत हो । हाम्रो समाज त हजुरबुबा, बुबा, छोरा र नाति सबै मिलेर बस्ने संस्कार भएको समाज हो । त्यसैले, युवाको ‘जोश’ र पाकाहरूको ‘होस’ मिलाएर मात्रै देश अगाडि बढ्न सक्छ । म सम्पूर्ण मतदातालाई सूर्य चिह्नमा मतदान गरी मलाई र एमालेलाई विजयी गराउन अपिल गर्दछु । हाम्रा प्रतिस्पर्धी साथीहरूलाई पनि स्वस्थ प्रतिस्पर्धा र उच्च राजनीतिक संस्कार अपनाउन आग्रह गर्दछु ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।