लोड हुँदैछ...

मेनु

सुनसरी–३ मा चुनावी चर्चा

युवाहरू स्वस्फूर्त चुनावी प्रचारमा

युवाहरू स्वस्फूर्त चुनावी प्रचारमा

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ को सडक किनारामा एउटा फरक दृश्य देखिन्छ। १०–१२ जना युवाहरूको समूह निकै उत्साहका साथ पोलमा ब्यानर टाँगिरहेका छन्। ब्यानरमा लेखिएको छ– ‘अबकी बार बालेन सरकार’ र छेउमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ अङ्कित छ। काठमाडौँका मेयर बालेन शाहको तस्बिर अंकित यो ब्यानरले सुनसरी–३ को चुनावी सरगर्मीलाई एउटा नयाँ मोड दिएको छ।

ब्यानर टाँगिरहेका २२ वर्षीय राहुल भगतको जोश हेर्नलायक छ। उनी भन्छन्, ‘यो देश अब ५ वर्ष ब्ल्याङ्केट र त्रिपालमा बस्दैन। दारु र मासुले मान्छे बिक्ने दिन गए। हामी आफैँ जाग्नुपर्छ, त्यसैले हामी परिवर्तनको पक्षमा उत्रिएका हौँ।’ उनीसँगै रहेका सुरज कुमार दास, चन्चल दास, अभिषेक यादव, देवन चौधरी र बिषय चौधरी जस्ता २१–२२ वर्षका युवाहरू पहिलो पटक मतदान गर्दैछन्। उनीहरूको एउटै स्वर छ– ‘हामीलाई आश्वासन होइन, काम गर्ने नेतृत्व चाहिएको छ।’

यही सडकमा डेढ वर्षदेखि सिटी रिक्सा गुडाउँदै आएका लाल बहादुर राय (बर्जु–१) को अनुभव भने अलि फरक र तितो छ। जनप्रतिनिधि समेत रहेका लाल बहादुर आफ्नो गुजाराका लागि रिक्सा चलाउँछन्। उनी भन्छन्, ‘नेताहरू चुनावको बेला मात्र जनताको घर–घर पुग्छन्। चुनाव सकिएपछि केन्द्रीय र प्रदेशका नेताहरू गाउँ नै फर्किँदैनन्। हामी जस्ता जनताको समस्या बुझ्न कोही आउँदैन।’

उनले रिक्सा चलाउँदा खेप्नुपर्ने समस्या र परिवार पाल्न गर्नुपर्ने संघर्ष सुनाउँदै गर्दा यसपटकको भोट फेरिन सक्ने संकेत गरे। उनी थप्छन्, ‘म आफैँ ७४ सालको निर्वाचित वडा सदस्य हुँ, तर म अरू नेता जस्तो गफ दिन्न, मिहिनेत गर्छु। अहिले गाउँतिर धेरैले बालेन र घण्टीकै चर्चा गरिरहेका छन्। पुराना पार्टीले पालो गरी–गरी मन्त्री खाए तर देशका लागि केही गरेनन्।’

युवाहरूको यो लहरले ७८ वर्षीय वृद्ध रूपलाल दासलाई पनि छोएको छ। जीवनभर ठूला दललाई भोट दिएका रूपलाल यसपटक नातिहरूको कुरा सुन्न तयार छन्। उनी भन्छन्, ‘विजय गच्छदार, भगवती चौधरी, रेशमलाल चौधरी सबैलाई हेरियो। अब नयाँलाई एकपटक हेर्नुपर्छ कि भन्ने छ। पुरानाले त पालो–पालो मन्त्री हुने र खाने मात्र काम गरे।’

यता, बर्जु–५ का उखु किसान टेकबहादुर कटुवालको आक्रोश भने सरकार र चिनी मिल सञ्चालकहरूमाथि छ। ‘हामी किसानलाई मिलले दास बनाउन खोजेको छ। पूर्जी दिँदैनन्, सरकारले दिने अनुदानको पैसा पनि समयमा आउँदैन,’ उनी भन्छन्, ‘१० कठ्ठामा उखु लगाउँदा ५० हजार ऋण लाग्छ, तर आम्दानी शून्य जस्तै छ। यस्तो बेला नेताहरू भोट माग्न आउँदा कुन मुखले आउँछन् ? ।’

विगतको बिरासत
थारू, चौधरी समुदायको बाहुल्य रहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटक बाहुल्यता रहेको यस क्षेत्रमा यसपटक पनि मुख्य प्रतिस्पर्धा थारू समुदायकै उम्मेद्वारको बाहुल्य छ । कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक चुनावी मैदानमा उत्रिएका छन् । एकातिर २०४८ सालदेखि २०७४ सम्म ३० वर्ष एकछत्र राज गरेका गच्छदार छन् भने अर्कोतिर उनकै विरासत भत्काएर उदाएकी नेकपा एमालेकी भगवती चौधरी पनि प्रतिस्पर्धामा छिन् ।

चौधरी र गच्छदारबीचको यो चौथो चुनावी प्रतिस्पर्धा हो । २०७९ को आम निर्वाचनमा गच्छदारको अपराजित यात्रालाई पूर्णविराम लगाउँदा भगवतीले करिब ५ हजार मतले पराजित गरेकी थिइन् । भगवती फेरि आफ्नो जित दोहो¥याउने दाउमा छिन् । यस क्षेत्रमा २२ जना प्रतिस्पर्धामा छन् । अहिले भने गच्छदार र भगवतीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोक चौधरी पनि प्रतिस्पर्धामा रहेको एमाले र काँग्रेसकै नेताहरू स्वीकार गर्छन् ।

सो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुर्गेश चौधरी, श्रम संस्कृति पार्टीले रामप्रसाद सदा, समावेशी समाजवादी पाटी नेपालले किशोरकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घनश्याम गुरुङलाई उम्मेदवार बनाएर चुनावी मैदानमा पठाएको छ । १२ पटकसम्म मन्त्री भएका गच्छदारले आफ्नो क्षेत्रमा धेरै विकास गरेको दाबी गर्दै आएका छन् । गच्छदार कांग्रेस छाडेर कहिले मधेशी जनाधिकार फोरमका नेता भए । २०७० मा फोरम फुटेपछि लोकतान्त्रिक जनाधिकार फोरमका नेता बने । फोरमबाट २०७० सालमा उनले चुनाव लडे । यो चुनावमा पनि उनले जिते । २०७४ सालमा भने उनी पुरानै राजनीतिक घर कांग्रेसमा फर्किए । २०७४ को चुनावमा पनि उनको प्रतिस्पर्धी भगवती नै थिइन् । यो पटक पनि उनले अत्यन्तै झिनो मतले जित हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।