लोड हुँदैछ...

मेनु

भोट माग्न आउँदा ढोग्छन्, प्यास मेट्न कल दिँदैनन्

भोट माग्न आउँदा ढोग्छन्, प्यास मेट्न कल दिँदैनन्

सुनसरी । सडकको छेउमै रहेको उखुबारीको बीचमा बसेर केही महिलाहरू हँसियाले उखु छिल्न व्यस्त छन्। तीमध्ये एक हुन्– ४० वर्षीया सजिला खातुन। सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ५ की सजिलाको अनुहारमा थकान मात्र होइन, एउटा पीडा र आक्रोश देखिन्छ।

आसन्न फागुन २१ को निर्वाचनले सुनसरी क्षेत्र नम्बर ३ लाई तताउँदै गर्दा सजिलालाई भने त्यो चुनावी रौनकले फिटिक्कै छोएको छैन। बरु, चुनावी झण्डा बोकेर आउने नेताहरू देख्दा उनलाई आफ्नै अभाव र बाध्यताले गिज्याए जस्तो लाग्छ।

सजिलाका श्रीमान् उनीबाट टाढिएको १० वर्ष भइसक्यो। त्यसयता ४ सन्तानको भारी उनकै दुब्ला काँधमा छ। दिनभर उखुबारीमा पसिना बगाउँदा उनले जम्मा ४५० रुपैयाँ ज्याला पाउँछिन्। त्यही ४५० रुपैयाँले साँझको चुल्हो बाल्ने कि छोराछोरीको भविष्य सुरक्षित गर्ने ? सजिला सधैँ यही दोसाँधमा बाँचिरहेकी छिन्। उनले भनिन्, ‘सर, मेरो ४ जना छोराछोरी छन्। श्रीमान् गएको १० वर्ष भइसक्यो। एक्लैले ४ जनालाई खुवाउँदै छु। दिनको साढे ४ सय पाउँछु, त्यसले के पुग्छ र ?’

उनको छेउमै एक किशोरी पनि उखु छिल्न सघाइरहेकी छिन्। ती उनकी छोरी हुन्। उमेरले स्कुल जानुपर्ने ती छोरी आमाको अभाव मेटाउन उखुबारीमा पसिना बगाउन बाध्य छिन्। छोरीको पढाइ बिचैमा रोकिएकोमा सजिलाको मन भित्रभित्रै पोलिरहेको छ। ‘छोरीलाई ५ कक्षासम्म मात्र पढाउन सकेँ सर, त्यसपछि पैसा पुगेन। ड्रेस दिन सकिनँ, कापी–कलम किन्न सकिनँ,’ उनले भनिन्, ‘पढाउन सकेको भए छोरीले अहिले किन उखु छिल्न आउनुपर्थ्यो र ? अहिले छोरी जवान भइसकी, उसको बिहे गर्ने अलिकति पैसा पनि छैन। छोरी जवान भएपछि बिहेको चिन्ताले मलाई रातभर निन्द्रा आउँदैन सर, के गरौँ ? ।’

चुनाव नजिकिँदै गर्दा गाउँमा नेताहरूको लर्को लाग्न थालेको छ। तर सजिलालाई ती अनुहारहरू पटक्कै मन परेका छैनन्। उनलाई लाग्छ, नेताहरूले गरिबको आँसुलाई केवल भोटको भर्‍याङ मात्र बनाउँछन्।

नेताहरूको व्यवहारप्रति रिसाउँदै उनी भन्छिन्, ‘अहिले त नेताहरू भोट माग्न थुप्रै आउँछन्। भोट माग्न आउँदा ‘दिदी–बहिनी’ भन्दै ढोग्दै आउँछन्। तर हाम्रो समस्या कसैले हेर्दैनन्। मेरो घरमा एउटा कल (ट्युबेल)सम्म छैन सर, पानी खानका लागि अर्काको कलमा जानुपर्छ। अहिलेसम्म एउटा कल दिन कसैले हेर्न आएन, अहिले चुनाव आएपछि चाहिँ ‘हजुर–हजुर’ भन्दै आउँछन्।’

सजिला जस्ता भुइँतहका मतदाताहरूमा अहिले ठूलो वितृष्णा जागेको छ। उनीहरूलाई लाग्छ, जसले जिते पनि उनीहरूको जीवनमा कुनै परिवर्तन आउनेवाला छैन। त्यसैले सजिलाले यसपटक एउटा कठोर निर्णय लिएकी छिन्। ‘यसपालि त म भोट कसैलाई पनि दिन्नँ। नदिएपछि नदिने,’ उनी भन्छिन्, ‘छोरी जवान भइसकी, उसको बिहेको लागि अलिकति पैसा जुटाइदिए त बिहे गरिदिन्थेँ। कसले दिन्छ र हामीलाई ? नेताहरू त आफ्नो काम बनेपछि फर्केर पनि हेर्दैनन्। जसले हाम्रो गाउँमा बाटो र पानी दिन्छ, उसैलाई मात्र सोच्न सकिन्छ, नत्र कसैलाई दिन्नँ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।