लोड हुँदैछ...

मेनु

भारतको मेघालयको कोइलाखानीमा विस्फोट : खोटाङका दुई दाजुभाइको मृत्यु

भारतको मेघालयको कोइलाखानीमा विस्फोट : खोटाङका दुई दाजुभाइको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका दुई दाजुभाइको मृत्यु भएको छ । मेघालयको उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको भीषण विस्फोटमा परी खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक पूर्णबहादुर र सुरेन्द्र एकै घरका दाजुभाइ हुन् । उनीहरू स्थानीय खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोराहरू हुन् । मृतक मध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए ।

सोही घटनामा अन्य चार जना नेपाली कामदार गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा बराहपोखरीकै बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुरको साउने निवासी ललितबहादुर मगर रहेका छन् । उनीहरूको अवस्था चिन्ताजनक रहेको र अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

रोजगारीका लागि सात जनाको टोली गत पुस ३ गते घरबाट मेघालय प्रस्थान गरेको थियो । टोलीमध्ये बराहपोखरीका ताराबल मगर मात्र सकुशल रहेका छन् । दुर्घटनापछि ताराबलले नै फोनमार्फत घटनाबारे परिवार र आफन्तलाई जानकारी गराएका हुन् ।

शव कुरेर बसिरहेका ताराबलले आफू एक्लै परेको र सहयोगका लागि अपिल गरेका छन् । ‘दुर्घटनामा दाजुभाइको मृत्यु भएपछि उनीहरूको शव पर्खेर बसेको छु । यहाँ कोही चिनेजानेका मानिस छैनन्, म ठूलो समस्यामा छु,’ ताराबलले भने, “‘घाइतेहरूलाई अस्पताल लगिएको छ, उनीहरूको अवस्था पनि गम्भीर छ । यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त खानी विस्फोटमा परेर ज्यान गुमाउनेको कुल सङ्ख्या १८ पुगेको छ । खोटाङका ग्रामीण क्षेत्रबाट हिउँदको समयमा ठूलो सङ्ख्यामा युवाहरू कामको खोजीमा मेघालय जाने गरेका छन् । कमाउन गएका युवाहरूको डेढ महिना नपुग्दै दुखद मृत्यु भएपछि सालघारीभञ्ज्याङ गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।