लोड हुँदैछ...

मेनु

तीन पटक जिताउने मतदातालाई डा.शेखरको प्रश्न– ‘मैले भनेको कुरा किन बुझ्नुहुन्न ?’

तीन पटक जिताउने मतदातालाई डा.शेखरको प्रश्न– ‘मैले भनेको कुरा किन बुझ्नुहुन्न ?’

विराटनगर । नेपाली कांग्रेसका नेता डां शेखर कोइरालाले आफूले वर्षौंदेखि उठाउँदै आएका मुद्दाहरू जनताले नबुझेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

विराटनगर–४ मा आज आयोजित एक चुनावी कार्यक्रममा मतदाताहरूसँग कुरा गर्दै उनले आफूले भ्रष्टाचारमुक्त समाज र सुशासनका बारेमा २०६४ सालदेखि नै निरन्तर बोल्दै आए पनि जनताले त्यसको मर्म बुझ्न नसकेको टिप्पणी गरेका हुन् ।

“म कति वर्षदेखि भनिरहेको छु, तपाईंहरूले कुरै बुझ्नुभएन,” कोइरालाले मतदातासामु भने। उनले थपे, “मैले २०६४ सालदेखि नै भ्रष्टाचारमुक्त समाज, सुशासन र युवा सहभागिताको कुरा गर्दै आएको छु । मेरो प्रतिवद्धता पत्रमा पनि यी कुरा लेखिएका छन्। तर, तपाईंहरूले सायद ती कुरालाई गम्भीरतापूर्वक लिनुभएन ।”

कोइरालाले विशेषगरी युवाहरूको नेतृत्वका विषयमा आफू स्पष्ट रहेको दाबी गरे । उनले स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र केन्द्रमा २० प्रतिशत युवाहरूलाई अवसर दिनुपर्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए ।

यद्यपि, मतदाताहरू भने कोइरालाको यस टिप्पणीप्रति सन्तुष्ट छैनन्। उनीहरू प्रश्न गर्छन्— “जनताले कुरा नबुझेको हो कि, पटक–पटक जिताएर पठाउँदा पनि नेताले जनताको मर्म नबुझेको हो ?” डा. कोइरालालाई यस क्षेत्रका मतदाताले २०६५ सालको उपनिर्वाचन, २०७० सालको संविधानसभा निर्वाचन र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भारी मत दिएर विजयी गराएका थिए । आजको कार्यक्रममा उनलाई केही महिला मतदाताहरु प्रश्न र प्रतिप्रश्न गरेका थिए ।

तीन–तीन पटक संसद् पठाए पनि निर्वाचन जितेपछि कोइराला विरलै गाउँ पस्ने गरेको र कार्यकर्तासँगको सम्पर्क टुटाउने गरेको आरोप लाग्दै आएको छ। विकास निर्माण र जनसरोकारका मुद्दामा क्षेत्रले यथोचित न्याय नपाएको भन्दै कार्यकर्ता र सर्वसाधारणमा तीव्र असन्तुष्टि देखिएको छ ।

आफ्नै निर्वाचन क्षेत्रमा आलोचना बढ्न थालेपछि र आगामी निर्वाचनको दबाबका कारण डा.कोइराला यस पटक अलि चाँडै गाउँ केन्द्रित अभियानमा लागेका छन्। विगतका गल्ती सुधार्दै जनसम्पर्क बढाउने उद्देश्यले उनी यतिबेला घरदैलो र साना समूहका भेटघाटमा सक्रिय देखिन्छन्। तर, जनतालाई नै ‘कुरो नबुझेको’ आरोप लगाउँदा उनको यो अभियान कति प्रभावकारी होला भन्ने प्रश्न भने अनुत्तरित नै छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।