विराटनगर । मोरङ जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनमा भएको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी र आमा नेपाली भएका व्यक्तिलाई आमाको नामबाट अंगीकृत नागरिकता प्रदान गरिएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार माघ ७ गते बुधबारदेखि नयाँ कानुनी प्राबधान अनुसार अंगीकृत र वंशजको पनि नागरिकता वितरण भएको छ । आमाको नामबाट अहिलेसम्म ४० जनाले नागरिकता प्राप्त गरिसकेको प्रशासनले जनाएको छ ।
नागरिकता वितरणसँगै आवश्यक कागजात संकलनको कार्य पनि निरन्तर भइरहेको प्रशासनले जनाएको छ। नागरिकता प्रदान गर्दा कानुनअनुसार आवश्यक कागजातहरूको सूक्ष्म जाँच तथा निगरानीका साथ प्रक्रिया अघि बढाइएको पौडेलले जानकारी दिए।
पहिलो पटक सेवा प्रारम्भ भएकाले सेवाग्राहीको चाप बढेकोले त्यसलाई व्यवस्थापन गर्न टोकन प्रणालीमार्फत सेवा प्रवाह भइरहेको जनाइएको छ। चुनावी समयसँगै कर्मचारीहरू निर्वाचन कार्यमा खटिनुपर्ने भएकाले कर्मचारी अभाव देखिन सक्ने भन्दै प्रशासनले केही दिन नागरिकता वितरण प्रक्रिया प्रभावित हुनसक्ने सम्भावना रहेको जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।