लोड हुँदैछ...

मेनु

भोजपुरमा १ हजार ४ सय किशोरीलाई एचपीभी खोप लगाइँदै

भोजपुरमा १ हजार ४ सय किशोरीलाई एचपीभी खोप लगाइँदै

भोजपुर । भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत करिब १ हजार ४ सय किशोरीलाई खोप लगाइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यही माघ २८ गतेदेखि फागुन १ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ।

जिल्ला स्वास्थ्य कार्यालय भोजपुरकी प्रमुख सिर्जना बनमालीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइनेछ । यस अभियानमा १ हजार ३९६ किशोरी समेटिने स्वास्थ्य कार्यालयले जनाएको छ।

गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि यसपटक अनिवार्य रूपमा समेट्ने लक्ष्य लिइएको प्रमुख बनमालीले जानकारी दिइन्। स्वास्थ्य कार्यालयका अनुसार विद्यालय बाहिर रहेका १०–१४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि एचपिभी खोप दिइनेछ।

अभियानको लागि जिल्लाभर २३१ वटा खोप केन्द्र तोकिएका छन्। प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र एक जना स्वयंसेवक परिचालन गरिने जनाइएको छ।

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर स्वास्थ्य समस्यामध्ये एक रहेको जनाउँदै स्वास्थ्य कार्यालयले यस रोगको न्यूनीकरणका लागि ३० वर्षमाथिका महिलाहरूको क्यान्सर ‘स्क्रिनिङ’ कार्यक्रम पनि सञ्चालनमा रहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।