काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनैपनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने स्पष्ट पारेका छन्।
आइतबार बिहान सम्पन्न नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले पार्टी यसपटक एक्लै चुनावी मैदानमा उत्रिने र पहिलो पार्टी बन्ने दावी गरे ।
बैठकमा सहभागी नेता लीलामणि पोखरेलका अनुसार प्रचण्डले कुनै दलको नाम नलिइ जनताबाट अस्वीकृत र तिरस्कृत भएका शक्तिसँग गठबन्धन नगर्ने नीति पार्टीले लिएको बताएका छन् । हालसम्मको चुनावी प्रचारको प्रवृत्ति आफूहरूका पक्षमा रहेको उल्लेख गर्दै नेकपाका उम्मेदवारले जनताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको प्रचण्डको भनाइ थियो ।
“हामी अरू दलभन्दा अगाडि छौँ, चुनाव हामी जित्दैछौँ,” भन्ने सन्देश प्रचण्डले बैठकमा दिएका थिए। बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल ले पनि एमालेसहित कुनै पनि दलसँग तालमेलको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
नेताहरूका अनुसार पछिल्लो समय एमालेसँग तालमेल हुनसक्ने भन्ने हल्लालाई बैठकले पूर्ण रूपमा खारेज गरेको छ । बागलुङमा मात्रै राष्ट्रिय जनमोर्चासँग सीमित तालमेल भएको भन्दै प्रचण्डले १६४ क्षेत्रमा नेककपाकै उम्मेदवार परिणाम ल्याउनेगरि प्रतिस्पर्धामा रहेको बताए ।
करिब एक घण्टा चलेको जुम बैठकमा नेकपाले आफ्नो क्षेत्रको रिपोर्ट राखेका थिए । एक्लै चुनाव लड्ने र एमालेभन्दा बढी सिट जित्ने लक्ष्यसहित अगाडि बढेको नेकपाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।