विराटनगर । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ मा राजनीतिक तनाव बढ्न थालेको छ ।
झापाको कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा बुधबार राति ढुंगा प्रहार भएको छ । सो घरमा रास्वपाको सम्पर्क कार्यालय रहेको छ ।
मध्यरातमा अधिकारीकोक घरमा ढुंगा प्रहार हुँदा झ्यालको शिशा फुटेको छ । यो घरको माथिल्लो तलामा रास्वपाले चुनावी रणनीति बनाउन सम्पर्क कार्यालय स्थापना गरेको थियो ।
झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार राति अज्ञात समूहले अचानक ढुङ्गामुढा गरी घरका झ्यालका सिसाहरू फुटाएका छन् । ‘रास्वपाले एउटा कोठा भाडामा लिएको भएपनि तोडफोडबाट घरबेटी बस्ने शिशाहरु फुटेको पाइएको छ ’डीएसपी खड्काले भने । घरमा मानिसहरू सुतिरहेको अवस्थामा घटना भएको थियो ।
सो क्षेत्र नेपालको राजनीतिको केन्द्र मानिने झापा ५ हो । जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारीले राष्ट्रिय ध्यान खिचेको छ ।
घटनास्थलको मुचुल्का उठाएर प्रहरीले दोषीको खोजी सुरु गरिसकेको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढेकाले यस घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।