लोड हुँदैछ...

मेनु

भोटको ‘रिमोट कन्ट्रोल’ विदेशमा : हिजो बाबु–आमाले अह्राउँथे, आज छोराछोरीले कमान्ड गर्छन्

भोटको ‘रिमोट कन्ट्रोल’ विदेशमा : हिजो बाबु–आमाले अह्राउँथे, आज छोराछोरीले कमान्ड गर्छन्

विराटनगर । मोरङको बुढीगंगा–५ का बेचन पण्डितका आँखा अचेल गाउँका भित्तामा टाँसिएका रङ्गीचङ्गी चुनावी पोस्टरमा भन्दा बढी आफ्नै मोबाइलको स्क्रिनमा अडिन्छन् । गाउँमा चुनाव लागेको छ, उम्मेदवारहरू हात जोड्दै दैलोमा आइपुग्छन् । तर, बेचनलाई ती उम्मेदवारका कुराले भन्दा बढी सात समुद्र पारिबाट आउने छोराछोरीको फोनले तान्छ ।

नेपालको चुनावी राजनीतिमा एउटा ठुलो बदलाव आएको छ । हिजोसम्म घरको मुख्य मान्छे (बाबु वा आमा) ले जे भन्यो, परिवारका अन्य सदस्यले त्यही आधारमा भोट खसाल्थे । गाउँका ठालु वा टाठाबाठाको निर्णय नै अन्तिम हुन्थ्यो । तर, अहिले समय बदलिएको छ । समयसँगै बेचन जस्ता हजारौँ मतदाताको ‘भोटिङ कमान्डर’ पनि बदलिएका छन् ।

‘अहिले त छोराछोरीले उतैबाट आदेश गर्न थालेका छन्’, केही दिनअघि मोरङको ग्रामथानमा भेटिएका बेचनले भने, ‘मेरा कसैले भोट मागेर पनि केही हुँदैन । छोराछोरीले यसपालि अस्ति नै भोट हाल्नेको टुङ्गो लगाइदिएका छन् ।’ घर चलाउने खर्च ९रेमिट्यान्स० छोराछोरीले नै पठाउने भएकाले उनीहरूले भनेको मानिदिनु आफ्नो बाध्यता र प्रेम दुवै रहेको उनी सुनाउँछन् ।

बेचन पण्डित एउटा प्रतिनिधि पात्र मात्र हुन् । अहिले नेपालका गाउँ–गाउँमा बेचनजस्तै हजारौँ बुवाआमाहरू ‘डिजिटल कमान्ड’ को प्रतीक्षामा छन् । नेपालमा भोट माग्ने शैली बदलिएको छ । उम्मेदवारहरू मतदाताको घरमा पुग्नुअघि नै विदेशमा रहेका उनीहरूका सन्तानले ‘इमो’, ‘वाट्सएप’ वा ‘मेसेन्जर’ बाट कसलाई भोट हाल्ने भन्ने निर्णय सुनाइसकेका हुन्छन् ।

चुनाव नेपालमा भइरहेको छ, तर चुनावी माहोल बनाउने ‘इन्जिन’ भने विदेशमा छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० जस्ता नयाँ दलहरूले यसलाई ठुलो रणनीतिक हतियार बनाएका छन् । विदेशमा रहेका नेपाली युवाहरू जो परिवर्तनको हुटहुटीले छट्पटिएका छन्, उनीहरूले आफ्ना वृद्ध बाबुआमालाई फोन गरेर पुरानो दल त्याग्न दबाब दिइरहेका छन् ।

सशस्त्र प्रहरीका पूर्व एसपी भरत थापा, जो बालेन शाहको चुनावी कमान्डर समेत थिए, यसलाई रणनीतिक सफलता मान्छन् । उनी भन्छन्, ‘हामीले विदेशमा बस्ने युवाहरूलाई सम्पर्क गरेर घरमा फोन गर्न र सम्झाइदिन आग्रह गर्ने गरेका छौँ । छोराछोरीले भनेको कुरा बाबुआमाले खासै काट्दैनन् ।’

रास्वपाका एक नेताका अनुसार खाडी मुलुकमा श्रम गरिरहेका युवाहरूलाई त झन् भावनात्मक दबाबसम्म दिन लगाइन्छ । कतिपयले त घरमा फोन गरेर स्पष्ट भन्छन्— ‘यदि यसपालि पनि पुरानैलाई भोट हाल्यौ भने हामी पैसा पठाउँदैनौँ ।’ यस पटक रेमिट्यान्सको माध्यमबाट भोट बदल्ने रणनीतिमा नयाँ दलहरू आक्रामक देखिएका छन् ।

नयाँ दलहरूको यो ‘प्रवास कमान्ड’ बाट पुराना दलहरू पनि तर्सिएका छन् । नेकपा एमाले जस्ता ठुला दलहरूले पनि अहिले रक्षात्मक हुँदै आफ्नै ‘प्रवास कमान्ड’ सुरु गरेका छन् । झापा–२ मा एमालेले विदेशमा रहेका मतदाताका सन्तानहरूको नामावली संकलन गरेर उनीहरूलाई बुझाउने र घरमा फोन गर्न लगाउने जुक्ति निकालेको छ ।

चुनावी परिचालन कमिटीका संयोजक एकराज कार्की भन्छन्, ‘हामीले पनि हाम्रो क्षेत्रबाट विदेश गएकाहरूको फोन नम्बर संकलन गरेर एजेन्डा बुझाउने काम गरिरहेका छौँ ।’

नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठुलो हिस्सा ओगट्ने रेमिट्यान्सले अहिले राजनीतिलाई पनि प्रत्यक्ष नियन्त्रण गर्न थालेको छ । घर खर्च चलाउने पैसा विदेशबाट आउने भएपछि निर्णय गर्ने अधिकार पनि बाबु–आमाबाट छोराछोरीमा सरेको हो ।

टिकटक, फेसबुक र युट्युबमार्फत विदेशमा बस्नेहरूले बनाउने माहोलले गाउँका कुना–कन्दराका मतदातालाई प्रभावित पारिरहेको छ । पहिला गाउँका चिया पसलमा हुने राजनीतिक बहस अहिले डिजिटल ग्रुपहरूमा सरेको छ ।

बेचन पण्डितले भनेजस्तै, ‘कमाउनेले भनेको मान्नैपर्ने’ बाध्यताले गर्दा यसपटकको मतपेटिकामा खस्ने धेरै भोटहरूको ‘रिमोट कन्ट्रोल’ विदेशमा छ । नेपालको सत्ताको साँचो अब सिंहदरबारमा मात्र छैन, यसको एउटा बलियो कडी वैदेशिक रोजगारीमा रहेका ती लाखौँ युवाहरूको मोबाइल स्क्रिनमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।