विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार मोरङ र सुनसरीका दर्जनौं स्थानमा पुगे । तर, जुन ठाउँमा पुगे त्यहाँ उनका कतिपय समर्थकले अनुहारको झल्को देख्न पाए भने कतिपयले देख्नै पाएनन् ।
बालेन शाहको सचिवालयले मंगलबार अबेर दिएको सेड्युल अनुसार मोरङको क्षेन नम्बर १ मा पर्ने उर्लाबारीदेखि ३, २, ४ र ६ नम्बर क्षेत्रका विभिन्न स्थानमा पुगे । ती स्थानमा बालेन आउने हल्लाले समर्थकहरुको भीड लागेको थियो । बालेन जुन ठाउँमा पुगे त्यहाँ भीड देखिन्थ्यो । बालेनले मोरङ क्षेत्र नम्बर ३ मा पर्ने पथरीमा दिएको समय नै लामो थियो । उनले त्यहाँ १० मिनेटको समय दिएको त्यहाँका उम्मेद्वार गणेश कार्कीले बताए ।
त्यसबाहेक १ नम्बर निर्वाचन क्षेत्रमा पर्ने उर्लाबारी, लेटाङ होस् या विराटनगरमा होस् २, ३ मिनेटको समय मात्रै दिए । विराटनगरमा त उनले जिल्ला कार्यालय रहेको फुटबल चोकमा गाडीबाटै हात हल्लाएर समर्थकलाई अविवादन गर्दै सुनसरीको दुहबीतर्फ लागे । बुधबारको कार्यतालिका (सेड्युल) निकै व्यस्त थियो । बिहान ७ बजे मोरङको उर्लाबारीबाट निस्किएका बालेन ७ बजेर २० मिनेट जाँदा पथरी पुगेका थिए । त्यहाँ उनले १० मिनेट समय खर्चेर पार्टीको ३ नम्बर निर्वाचन क्षेत्रको कार्यालयमा नेता तथा कार्यकर्तासँग भेटघाट गरे ।
त्यसपछि उनको यात्रा लेटाङ, डाइनिया, रंगेली हुँदै विराटनगरसम्म पुग्यो । मोरङको कार्यतालिका सकेर उनी सुनसरी प्रवेश गरे । विराटनगरबाट निस्किएका उनी दुहबी, इटहरी, इनरुवा हुँदै बराहक्षेत्रसम्म पुगे । दिनभरको दौडधुपपछि उनी दिउँसो ३ बजेतिर उदयपुरका लागि प्रस्थान गरेका छन् ।
बालेनको यो खालको तीब्र दौड (चुनावी अभियान)ले देशव्यापी तरङ्ग पैदा गरेको छ । उनी तराईका जिल्ला जाँदा होस् या पहाडी भेगसम्मका मतदाताको घरदैलोमा पुग्दा पनि उनको सेड्युल यस्तै हुने गरेको छ भने भीडभाड पनि निक्कै देखिन्छ । जब बालेन गाडीको सनरुफबाट बाहिर निस्किएर हात हल्लाउँछन् र घण्टी बजाउँछन् सयौँ युवाहरूले उनलाई छुन र तस्बिर खिच्न तँछाडमछाड गरिरहेको देखिन्छ । यो दृश्यले उनीप्रतिको समर्थकको बलियो भरोसा देखाउँछ ।
बालेनले बुधबार नै सप्तकोशीको पानीमा डुङ्गा चढेर धार्मिक विधि अनुसार पुजा गरेका छन् । बालेनले सांस्कृतिक मूल्य र मान्यतालाई पनि सँगै लिएर हिँड्न चाहन्छन् भन्ने सन्देश दिन खोजेका छन् । त्यसक्रममा उनले केही धार्मिक र सभ्यताको कुरा पनि गरेका छन् । बुधबारका कुनै पनि भेटघाटका कार्यक्रममा नबोलेका बालेनले सामाजिक सञ्जाल फेसबुकमा सप्तकोशीमा बोटिङ गर्दै गरेको फोटो शेयर गर्दै खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल रहेको र यसलाई मुन्धुममा सभ्यताको द्वार मानिने बताएका छन् । ‘मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो । यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामुहिक प्रतिनिधित्व गर्छ,’ उनले लेखेका छन् । उनको यो स्टाटसले पहिचान र संकृति संरक्षणको आन्दोलन गरिरहेका कोशी प्रदेशका किराँत धर्माबलम्बीहरुको समर्थन लिन खोजेको देखिन्छ ।
मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार तथा रास्वपा नेता गणेश कार्कीका अनुसार बालेन शाहको यो चुनावै दौड (बेग) केवल एउटा जिल्लामा मात्र सीमित छैन । कार्की भन्छन्, ‘बालेनजीले देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा पुग्ने लक्ष्य राख्नुभएको छ । सोही योजनाअनुसार उहाँले कोशी र सुदूरपश्चिमका अधिकांश क्षेत्रहरू भ्याइसक्नुभएको छ ।’
बालेनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ का मात्र नभई देशका हरेक निर्वाचन क्षेत्रमा पुगेर आफ्नो पार्टीलाई जिताउने संकल्प गरेको कार्की बताउँछन् । उनलाई प्रश्नबाट भाग्ने गरेको भन्ने आरोपको खण्डन गर्दै कार्कीले थपे, ‘उहाँ प्रश्नबाट भाग्नुहुन्न, बरु जतिसक्दो धेरै प्रश्न आओस् भन्ने चाहनुहुन्छ । ती सबै प्रश्न र जिज्ञासाको एकमुष्ट जवाफ रास्वपाले चुनावी मैदानबाटै दिनेछ ।’
बालेन शाहको यो बढ्दो क्रेज र वैकल्पिक राजनीतिको उदयले पुराना दलहरूलाई निकै दबाबमा पारेको देखिन्छ । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय नेकपासँग मिलौं भनी राखेको प्रस्ताव यसैको उपज हो । ‘एमाले अध्यक्ष ओलीले नेकपासँग एकता वा सहकार्यको प्रस्ताव राख्नुले उनी अत्तालिएको प्रष्ट पार्छ । बालेन शाह र रास्वपाप्रति देखिएको यो जनलहरले ठूला भनिएका दलहरूको सातो उडाएको छ’, उनले भने ।
पोखरेलका बालेनले अहिले प्राप्त गरिरहेको सामाजिक सञ्जाल र सडकको क्रेजलाई मतदानको दिनसम्म भोटमा बदल्न सके भने उनले सोचेभन्दा धेरै मत ल्याउन सक्ने बलियो सम्भावना छ । ‘अहिलेको चुनौती भनेकै यो क्रेजलाई कसरी मतपत्रमा खसाल्ने भन्ने हो,’ पोखरेलले भने । बालेन शाहको यो बेगले नेपाली राजनीतिमा पुराना खेलाडीहरूलाई पुनर्विचार गर्न बाध्य तुल्याएको र आगामी निर्वाचनको परिणाम अप्रत्याशित हुनसक्ने पोखरेलको दाबी छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।