लोड हुँदैछ...

मेनु

डन बस्को स्कुलद्वारा खेलाडी सम्मानित

डन बस्को स्कुलद्वारा खेलाडी सम्मानित

विराटनगर । विराटनगरस्थित डन बस्को स्कुलले विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना विद्यार्थी खेलाडीहरूलाई भव्य समारोहका बीच पुरस्कृत तथा सम्मानित गरेको छ।

प्रथम मेयरकप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा उपविजेता सेकेन्ड बन्न सफल विद्यालयको फुटबल टोलीलाई प्रोत्साहन स्वरूप ट्रयाकसुट वितरण गरिएको छ। सोही अवसरमा विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले डन बस्कोका खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै जर्सी सौजन्य गरेको थियो।

वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर प्याब्सनका अध्यक्ष अर्जुन श्रेष्ठ, विशिष्ट अतिथिहरू वसन्त अर्याल, सन्तोष बानिया, बिनेस बस्नेत, सेन्ट जोसेफ स्कुलका प्रिन्सिपल एडल्फ थापा, र आयर्ल्याण्डबाट आउनुभएकी विदेशी अतिथि इभ्लिनको उपस्थिति रहेको थियो। यस्तै, ग्रिनल्याण्ड कलेजका चेयरम्यान रविन्द्र घिमिरे र प्रिन्सिपल दिनेश दाहाल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको समेत सहभागिता थियो।

विद्यालयले हालै सम्पन्न ‘स्पोर्टस मिट २०८२’ का विजेताहरूलाई पनि सोही अवसरमा सम्मान गरेको छ। आन्तरिक खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरियो।
यसैगरी, पोखरिया युथ केयर एकेडेमीको आयोजनामा भएको चित्रकला र सडक दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी अवार्ड हासिल गर्ने विद्यार्थीहरूलाई पनि विद्यालयले विशेष सम्मान प्रदान गरेको छ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल अमृत राजले विद्यार्थीहरूको चौतर्फी विकासमा खेलकुदको ठूलो भूमिका रहने बताउनुभयो। उहाँले डन बस्को स्कुलले हरेक वर्ष विराटनगर तथा मोरङ जिल्लास्तरीय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै आएको स्मरण गर्दै सहयोगी दाता, अतिथि, अभिभावक र मेहेनती विद्यार्थीहरूलाई धन्यवाद एवं आभार प्रकट गर्नुभयो।
विराटनगरको खेलकुद क्षेत्रमा डन बस्कोले देखाएको यो सक्रियता र खेलाडीहरूलाई गरिएको सम्मानले अन्य विद्यार्थीहरूमा समेत उत्साह थपेको सहभागी अतिथिहरूले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।