लोड हुँदैछ...

मेनु

नेपाली कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले दिए पदबाट राजीनामा

नेपाली कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले दिए पदबाट राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार (माघ २१ गते) प्रदेश सभापतिलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र बुझाएका हुन् ।

पार्टीको नीति र नेतृत्वमा आएको परिवर्तन तथा सभापतिसँगको वैचारिक मतभेदलाई मुख्य कारण देखाउँदै विष्टले पद त्याग गरेका हुन् । विष्ट २०८१ असोज ११ गते कोशी प्रदेशको प्रवक्तामा नियुक्त भएका थिए ।

राजीनामा पत्रमा विष्टले देशको बदलिँदो राजनीतिक परिवेश र विशेषगरी २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पछि उत्पन्न परिस्थितिको चर्चा गरेका छन् । उनले पार्टीमा नीति र नेतृत्व परिवर्तनका लागि आफू स्वयम्ले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेको र पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्वमा परिवर्तन ल्याएको उल्लेख गरेका छन् ।

विष्टले राजीनामा पत्रमा लेखेका छन्, “बदलिएको परिप्रेक्ष्यमा सभापतिज्यूसँग वैचारिक रूपमा मत फरक हुन गएको हुँदा प्रवक्ताको रूपमा काम गर्न असहज परिस्थिति भएको छ । नैतिक रूपले उक्त पदमा बसिरहन उपयुक्त नभएकाले आजकै मितिबाट प्रवक्ता पदबाट राजीनामा गरेको छु ।”

प्रवक्ताको जिम्मेवारीमा रहेर काम गर्ने अवसर प्रदान गरेकोमा उनले प्रदेश सभापतिलाई धन्यवाद दिएका छन् । साथै, आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने कार्यसमितिका सदस्यहरू, पार्टीका साथीहरू, शुभचिन्तकहरू र सञ्चारकर्मीहरूप्रति पनि उनले आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।