विराटनगर । खोटाङमा एमालेबाट निर्वाचित पूर्वगाउँपालिका अध्यक्ष कृष्णकुमार राई नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा राई एमाले छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
२०७४ सालमा एमालेबाट केपिलासगढी गाउँपालिका अध्यक्ष निर्वाचित राई मंगलबार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजित कार्यक्रममा पूर्वसांसद एवं नेकपाका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’, राजन राई, भीम राई, जलसेर राई, प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.हरि रोका लगायतले राईलाई स्वागत गरेका थिए ।
नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका राई एमालेका जिल्ला सचिवालय सदस्य थिए । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा भने पराजित भएका थिए ।
नेपाली कम्युनिष्ट पार्टी जनताको भवना बुझ्ने र जेनजी आन्दोलनपछि सबैभन्दा पहिले पुनः गठन भएको पार्टी भएकाले आफू पनि नेकपा प्रवेश गरेको नेता राईले बताए । “एमालेले जनताको भावना बुझ्न सकेन । त्यहाँ रहेर अहिले जनताको घरमा जान सकिने अवस्था छैन”, उनले भने, “जेनजी आन्दोलनपछि देशभर नेकपाको पक्षमा जनमत जुट्दै गएको छ । म आफू पनि राजनीतिक व्यक्ति हुँ । जनताको सेवा गर्न एमाले परित्याग गरेर नेकपा प्रवेश गरेको हुँ ।”
पूर्वगाउँपालिका अध्यक्षसँगै केपिलासगढी गाउँपालिका एमाले सचिव रमेश परियार, सदस्य निरण श्रेष्ठ, बाक्सिला वडा कमिटि अध्यक्ष दिनेश राई लगायत २२ जना प्रवेश गरेको नेपाली कम्युनिस्ट पार्टीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।