विराटनगर । विराटनगर कोशी प्रदेशको राजधानी हो । यही विराटनगरको मुख्य बजार, चोक र गल्लीहरु शहरजस्तो लाग्ला । तर, त्यही विराटनगरको विपन्न वस्तीहरुको अवस्था दयनीय छन् ।
विराटनगर महानगरपालिकाको वडा नम्बर ४ र १२ का दलित तथा पिछडिएका वस्तीहरूको दृश्यले राजधानी विराटनगरलाई नै गिज्याइरहेको छ । धुलाम्य सडक, लथालिङ्ग ढल, वस्तीको बीचमै बाँधिएका गाईवस्तु र जताततै थुपारिएका गुइँठाहरू—यो मोरङ क्षेत्र नम्बर ६ को अनुहार पनि हो । यो क्षेत्र काँग्रेस नेता डाक्टर शेखर कोइरालाको क्षेत्र पनि हो । विराटनगर नेपाली काँग्रेसको उद्गम थलो पनि हो ।
यहाँका मतदाता यसपटक विद्रोह बोल्ने तयारीमा छन् । त्यो पनि मतपत्र मार्फत । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोलले हल्का फुल्का यी गरिव वस्तीहरुमा छुँदैछ । यस पटक यो क्षेत्रबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको प्रधानमन्त्री बन्ने आकांक्षासहितका प्रचार गरिरहेका छन् । कोइरालाको सचिवालयले एउटा चुनावी पोस्टर सार्वजनिक गरेको छ, जसमा उनको तस्बिरसँगै लेखिएको छ, ‘मेरो नेतृत्वमा स्थिर सरकार, युवा अवसर र जनताको विश्वास फिर्ता ल्याउँछु ।’ तर, यो पोस्टरले विराटनगरका भित्री वस्तीमा आशा छर्न सकेको छैन ।
काँग्रेसले प्रधानमन्त्रीको भावी उम्मेद्वारको रुपमा पार्टी सभापति गगन थापालाई अगाडि सारेको छ । तर, यहाँका जनतालाई गगन थापा हुन् या डा. कोइरालाप्रति कुनै रुची देखिएन । पार्टीभित्रको आन्तरिक दाउपेचका बीच उनले मोरङका मतदातासामु प्रधानमन्त्रीको कार्ड फ्याँकेका छन् । तर, के यो कार्डले वस्तीका मतदाताको मन जित्न सक्ला ? प्रश्न गम्भीर छ ।
विराटनगर–४, इक्राहीकी काजल गडेरीले भर्खरै स्नातक (ब्याचलर) तहको पढाइ सकेकी छन् । उनको वस्तीमा कोइरालाको युवा अवसर लेखिएको पोस्टरले कुनै आशा जगाएको छैन । काजल भन्छिन्, ‘म स्नातक सकेर बसेकी छु, तर यहाँ कुनै काम छैन । कतै काम खोज्न गयो भने ५ हजार भन्छन्, बढीमा ७ हजार । त्योभन्दा बढी त मैले कलेजमा महिनाको फि तिरेकी छु । ५–७ हजारमा काम गर्नुभन्दा त घरमै भात खाएर बस्नु ठीक छ ।’ काजलका अनुसार नेताहरूले शिक्षा र रोजगारीको ठूला कुरा गरे पनि स्थानीय स्तरमा शिक्षित युवाहरूका लागि कुनै अवसर छैन । ‘हामीले पढेर के पायौँ ? नेताहरूका छोराछोरी महलमा बस्छन्, राम्रो स्कुल पढ्छन्, तर हाम्रा लागि न जागिर छ, न सम्मान । अब त यस्तो मान्छेलाई भोट दिने मनै छैन,’ उनले आक्रोश पोखिन् ।
इक्राहीकै ७० वर्षका फनकलाल पालको पीडा झनै कारुणिक छ । उनले निकै दुःख गरेर छोरालाई सिभिल इन्जिनियर बनाए । तर, इन्जिनियर छोराको हातमा अहिले नक्सा र उपकरण होइन, ट्रयाक्टरको स्टेरिङ छ । केसरलाल भन्छन्, ‘छोरालाई सिभिल इन्जिनियर पढाएँ । सोचेको थिएँ, अब दिन फेरिन्छन् । तर, इन्जिनियर पढेको मान्छेले जागिर पाउँदैन । अहिले यही वस्तीमा ट्रयाक्टर चलाएर जीविकोपार्जन गरिरहेको छ ।’ उनको स्वरमा निराशा प्रष्ट सुनिन्छ । ‘हाम्रो पढेको छोराले ट्रयाक्टर चलाउनुपर्ने, नेताका मान्छेले सित्तैमा खाने ? पढेको मान्छेको यहाँ के भ्यालु छ ? यो देशमा पढाइको मूल्य छैन,’ उनले भने । पिच सडककै आसपासमा घर रहेको उनलाई सडक भएर मात्रै भएन रोजगारी पाउनेपर्नेमा जोड दिन्छन् । ‘हामीलाई रोड भएर हुँदैन । यसले खान दिन्छ र ? खानका लागि त रोजगारी चाहियो नि त,’ उनले भने, ‘हामी मान्छे त हौं तर, मान्छेको भ्यालु छैन । जागिर छैन, काम छैन, युवाहरू नशा खान्छन्, लुटपाट गर्छन् अनि जेल पर्छन् । यो सब रोजगारी नभएर भएको हो । पढेलेखेका मान्छे घरमै बसेपछि के गर्छन् त ?।’
विराटनगर–४ कै ७६ वर्षीय एक वृद्ध जो आफ्नो नाम बताउन चाहँदैनन्, उनी वर्षौँदेखि नेपाली कांग्रेसलाई नजिकबाट हेर्दै आएका छन् । काँग्रेसका क्रियाशिल सदस्य पनि हुन् । तर, यसपटक उनी काँग्रेसलाई भोट नहाल्ने बताउँछन् ।
नाम नछाप्ने शर्तमा उनी भन्छन्, ‘मैले बुढो भइन्जेल कांग्रेसलाई भोट हालें । शेखर कोइरालालाई पनि जिताएकै हो । तर, जितेपछि उनी वस्तीमा फर्केर आउँदैनन् । एउटा बुढो मान्छेले आफ्नो नेतालाई भेट्न पनि नपाउने ? अहिले प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन्, जितेपछि त झन् कसरी भेट्लान् ? ।’ उनका अनुसार वस्तीका युवाहरू अहिले कांग्रेस वा एमाले भन्दा पनि नयाँ पार्टीतिरै आकर्षित छन् ।
विराटनगर–१२, मलाहनुवाकी लाखु राजवंशी र पदमलाल राजवंशीको वस्तीमा पनि चर्चाको विषय नयाँ र मत परिवर्तन गर्ने विषयमा नै हुन्छ । लाखु भन्छिन्, ‘अहिलेसम्म कोही आएको छैन बाबु । वरिपरि त सबैजना भन्छन् यसपालि घण्टी छापमा दिने । हामीले धेरैलाई जितायौं । हाम्रो वस्तीको बाटो र ढल कहिल्यै बनेन । अब त नयाँलाई नै हेर्ने हो ।’
यो क्षेत्रमा डा. शेखर कोइराला आफ्नो अपराजित विरासत जोगाउने दाउमा छन् । २०७९ को निर्वाचनमा उनले एमालेका लालबाबु पण्डितलाई १२ हजारभन्दा बढी मतले पराजित गरेका थिए । तर, यसपटक एमालेले विनोद ढकाललाई चुनावी मैदानमा उतारेको छ । ढकाल १७ वर्षअघिको हारको बदला लिने रणनीतिमा छन् । ढकाललाई डा.कोइरालाले २०६५ सालको उपनिर्वाचनमा पराजित गरेका थिए । यद्यपि, यी दुवैलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुबिना आचार्यले ठूलो चुनौती पेश गरेकी छन् ।
२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ यहाँ काँग्रेसले २३ हजार ७१०, एमालेले १९ हजार ३८९, रास्वपाले ११ हजार ५२६, राप्रपाले १० हजार ६४१ र तत्कालिन नेकपा माओवादी केन्द्रले ८ हजार १८५ मत ल्याएको थियो ।
२०७९ मा रास्वपाले यहाँ प्रत्यक्षतर्फ ९ हजार बढी मत ल्याएको थियो । यसपटक रास्वपालाई उक्त मत बढ्ने अनुमान छ । सुकुम्बासी र दलित वस्तीमा नयाँको लहरले डा. कोइरालाको प्रधानमन्त्रीको सपनालाई धक्का दिन सक्ने देखिन्छ ।
वस्तीमा पुग्दा सुनिने एउटै स्वर छ, ‘आश्वासनले पेट भरिँदैन ।’ डा. कोइरालाले पोस्टरमा ‘जनताको विश्वास फिर्ता ल्याउँछु’ भने पनि मतदाताको विश्वास भने गुम्दै गएको देखिन्छ । वडा नम्बर ४ र १२ का सुकुम्बासीहरूले लालपूर्जाको समस्यादेखि डुबानको समस्यासम्म भोगिरहेका छन् ।
विराटनगरका यी वस्तीहरूमा मतदाताहरूले उठाएका मुख्य एजेण्डा भनेको रोजगारी पाउनुपर्ने हो । निर्वाचन जितेपछि नियमित नेताहरु आउनुपर्छ र भेटघाट गर्नुपर्छ भन्ने पनि माग गरेका छन् । यस्तै वर्षामा हुने डुबानबाट मुक्ति पाउनु पर्ने, केशलिया खोलामा तटबन्धन हुनुपर्ने यहाँका समुदायको माग छ । विराटनगर १२ का तिलक ढकाल पनि यस पटक मत परिवर्तन गर्ने बताउँछन् ।
यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा कांग्रेस नेता डा. शेखर कोइराला, नेकपा एमालेका विनोद ढकाल, रास्वपाकी रुबिना आचार्य र नेकपाका ओपेन्द्र रायले मुख्यगरि प्रतिस्पर्धा गर्दैछन् । मोरङ–६ को राजनीतिक इतिहास स्थिर छैन । २०४८ यताका आठवटा निर्वाचनमा सात पटक यहाँका मतदाताले नयाँ अनुहार चुनेका छन् ।
यस्तो छ मतदाताको अवस्था
मोरङ क्षेत्र नम्बर ६ मा १ लाख ३७ हजार ८३२ मतदाता रहेको छ । निर्वाचन आयोगको विवरणअनुसार यस क्षेत्रमा पुरुष मतदाताको संख्या महिलाको तुलनामा केही बढी छ । कुल मतदातामध्ये ७० हजार ६१७ पुरुष, ६७ हजार २१४ महिला र अन्यमा १ जना मतदाता रहेका छन् । निर्वाचनका लागि ३९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्र तोकिएको छ ।
मोरङ ६ मा विराटनगर महानगरपालिकाका ७ वटा वडा (४, ५, ६, ७, ९, ११ र १२), बुढीगंगा गाउँपालिकाका १ देखि ७ वडा र सुन्दरहरैंचा नगरपालिकाका २ देखि ७ नम्बर वडाहरू समेटिएका छन् । मतदाताको हिसाबले विराटनगर महानगरपालिकाका वडाहरू निर्णायक देखिएका छन् । विशेषगरी वडा नम्बर ४ मा १२ हजार ६३० र वडा नम्बर ६ मा १२ हजार ८११ मतदाता छन् । बुढीगंगा गाउँपालिकामा ३२ हजार ३६९ मतदाताले मतदान गर्नेछन् । सुन्दरहरैंचा नगरपालिकाको यो क्षेत्रमा पर्ने वडाहरुमा ३९ हजार ८९० मतदाता छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।