विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनावी सहकार्यका लागि आकर्षक प्रस्ताव राखेका छन् । आगामी निर्वाचनमा केही सिटमा तालमेल गर्ने उद्देश्यले ओलीले प्रचण्डसँग ‘दुईको बदलामा चार’ को प्रस्ताव अघि सारेका हुन् ।
एमाले स्रोतका अनुसार ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ र महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ–२ मा माओवादीको सहयोग मागेका छन् । यी दुई महत्त्वपूर्ण क्षेत्रमा एमालेलाई सघाएबापत माओवादीले रोजेका कुनै पनि ४ सिटमा एमालेले पूर्ण सहयोग गर्ने ओलीको वचन छ ।
प्रचण्डसँगको संवादमा ओलीले भनेका छन्, “हाम्रा दुई क्षेत्र (झापा–५ र दाङ–२) सुरक्षित गरिदिनुस्, त्यसको बदलामा तपाईंले जुन–जुन क्षेत्र भन्नुहुन्छ, त्यहाँ हामी ४ सिट छाड्न र सघाउन तयार छौँ ।”
एमालेका दुई शीर्ष नेताको क्षेत्रमा जित सुनिश्चित गर्न ओलीले यस्तो रणनीति अख्तियार गरेको बुझिएको छ । तर, ओलीको यो ‘लोभलाग्दो’ प्रस्तावमा प्रचण्डले भने अहिलेसम्म कुनै स्पष्ट जवाफ दिइसकेका छैनन् ।
माओवादी केन्द्रका अन्य शीर्ष नेताहरू एमालेसँग चुनावी सहकार्य गर्न नहुने अडानमा रहेका कारण प्रचण्ड दबाबमा परेको स्रोतको दाबी छ । पार्टीभित्रको आन्तरिक समीकरण र अन्य दलसँगको गठबन्धनका बीच प्रचण्डले ओलीको प्रस्तावलाई कसरी लिन्छन् भन्ने चासोको विषय बनेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।