लोड हुँदैछ...

मेनु

हिजो संसद् चलाउने, आज मतदाता फकाउने : झापा–२ मा सभामुख र उपसभामुख नै आमने–सामने

हिजो संसद् चलाउने, आज मतदाता फकाउने : झापा–२ मा सभामुख र उपसभामुख नै आमने–सामने

विराटनगर । नेपालको संसदीय इतिहासमा एउटै मञ्चबाट पालैपालो सदन सञ्चालन गरेका दुई उच्च पदाधिकारीबीचको चुनावी भिडन्तले झापा क्षेत्र नम्बर २ लाई चासोको ‘ब्याटल ग्राउण्ड’ बनाएको छ। हिजोसम्म सभामुख र उपसभामुखको आसनमा बसेर संसद्लाई दिशानिर्देश गर्ने निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना यतिबेला एउटै भूगोलको एउटै सिटका लागि चुनावी मैदानमा आमने–सामने हुनुले झापाको राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा संसदीय पोडियम बाट सुरु भएको यी दुई पात्रको सम्बन्ध अहिले एक–अर्कालाई पराजित गर्नुपर्ने चुनौतीपूर्ण मोडमा आइपुगेको छ, जसलाई धेरैले यी दुई पदाधिकारीको कार्यक्षमता र लोकप्रियताको वास्तविक अग्निपरीक्षा का रूपमा व्याख्या गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दरिलो भरोसा र स्थानीय पार्टी संयन्त्रको केही असन्तुष्टिका बीच चुनावी मैदानमा उत्रिएका देवराज घिमिरेका लागि यो निर्वाचन प्रतिष्ठाको लडाइँ बनेको छ। अघिल्लो कार्यकालमा संसद् सञ्चालन गर्दा सन्तुलित भूमिका खेल्न नसकेको भन्दै विपक्षीबाट आलोचना खेपेका घिमिरेलाई यसपटक आफ्नै पार्टीभित्रको आन्तरिक व्यवस्थापन अर्को चुनौती थियो। स्थानीय स्तरमा नयाँ अनुहारको माग भइरहँदा टिकट हात पार्न सफल घिमिरेले अहिले आफूविरुद्ध असन्तुष्ट रहेका नेताहरूलाई नै चुनावी कमाण्डर बनाउन सफल भएका छन्। संगठनका हिसाबले एमाले यहाँ बलियो देखिए पनि विगतमा स्वतन्त्र उम्मेदवारले दिएको कडा टक्कर र अहिले रास्वपाको फेरिएको शक्ति समीकरणले घिमिरेलाई सहजै जित निकाल्न निकै कसरत गर्नुपर्ने देखिन्छ।

अर्कातर्फ, रास्वपाकी इन्दिरा रानाले समानुपातिकको सुरक्षित बाटो छाडेर प्रत्यक्ष निर्वाचनको जोखिमपूर्ण मैदान रोज्नुले झापा–२ को प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। सत्तापक्षको दबाब र अविश्वासको प्रस्तावको तयारीका बीच उपसभामुखको कार्यकाल पूरा गरेकी रानाका लागि बालेन शाहको रास्वपा प्रवेश र त्यसले सिर्जना गरेको नयाँ जनलहर नै मुख्य ऊर्जा बनेको छ। सामाजिक कार्यकर्ताको छवि र परिवर्तनको संवाहक दाबी गर्ने रास्वपाका लागि यो निर्वाचन संगठन विस्तारभन्दा पनि स्थापित पुराना दलका दिग्गजलाई ढाल्ने एउटा अवसर बनेको छ। तर, संगठनको जग कमजोर रहेको यो क्षेत्रमा रानाले कसरी परम्परागत मतलाई आफ्नो पक्षमा पार्छिन् भन्ने कुराले नै उनको चुनावी भविष्य तय गर्नेछ।

यो रोचक प्रतिस्पर्धाको बीचमा नेपाली कांग्रेसले भने नयाँ प्रयोगु मार्फत आफ्नो वर्चस्व फर्काउने दाउ हेरेको छ। प्रत्यक्षतर्फ सरिता प्रसाई र समानुपातिकमा पनि महिला अनुहारलाई अघि सारेको कांग्रेसले जातीय समीकरण, विशेष गरी(कुमाई) समुदायको मत र गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानलाई आफ्नो चुनावी एजेण्डा बनाएको छ। विगतमा कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्माका गुटबीचको टकरावले धक्का बेहोर्दै आएको कांग्रेस यसपटक एकढिक्का भएको दाबी गरिए पनि कार्यकर्ताको मनोबल कति उच्च छ भन्ने कुराले प्रसाईको नतिजा निर्धारण गर्नेछ। पटक–पटक सत्ता र सदनमा पुगेका पुराना अनुहारलाई मतदाताले दिने ुप्रश्नु र ुउत्तरु को चेपुवामा प्रसाई पनि उत्तिकै देखिन्छिन्।

यसपटकको चुनाव अघिल्लोभन्दा भिन्न हुनुको अर्को कारण राप्रपाबाट उम्मेदवार बनेका स्वागत नेपाल र नेकपा ९माओवादी केन्द्र० की धर्मशिला चापागाईंको उपस्थिति पनि हो। अघिल्लो निर्वाचनमा स्वतन्त्र रूपमा घिमिरेलाई निकै सास्ती दिएका नेपाल अहिले संस्थागत शक्तिसहित मैदानमा हुँदा एमाले र कांग्रेस दुवैको परम्परागत मत काटिने भय बढेको छ। यस्तो बहुकोणीय भिडन्तमा एकातिर ुअनुभव र संगठनु को दाबी गर्ने एमाले–कांग्रेस छन् भने अर्कोतिर ुपरिवर्तन र नयाँ लहरु को नारा दिने रास्वपा र राप्रपा छन्। झापा–२ को यो चुनावी दृश्यले केवल एक सांसदको छनोट मात्र गर्ने छैन, बरु संसदीय गरिमा बोकेका पात्रहरूको जनस्तरमा कस्तो प्रभाव छ भन्ने कुराको पनि अन्तिम फैसला गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।