विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता झापा क्षेत्र नं. ५ मा रहेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका नेता बालेन्द्र शाह तथा नेपाली कम्युनिष्ट पार्टीका रञ्जीत तामाङसहित उम्मेदवार रहेको झापा ५ प्रदेशमा सबैभन्दा धेरै मतदात रहेको क्षेत्र हो ।
सार्वजनिक तथ्याङ्क अनुसार झापा ५ मा कुल १ लाख ६३ हजार ३७९ मतदाता छन् । जसमा ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र २ जना अन्य छन् । धेरै मतदाता रहेको यस क्षेत्रमा निर्वाचन सम्पन्न गर्न ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्र तोकिएको छ ।
दोस्रो धेरै मतदाता रहेको क्षेत्रमा सुनसरी क्षेत्र नम्बर २ हो । त्यहाँ १ लाख ५८ हजार ९१० मतदाता छन् । ४० मतदान स्थल र १६७ मतदान केन्द्र
तेस्रो धेरै मतदाता रहेको मोरङ क्षेत्र नम्बर ३ मा १ लाख ५८ हजार ५७ मतदाता रहेका छन् । जहाँ ५५ मतदान स्थल र १७९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रदेशमा सबैभन्दा कम मतदाता भएको निर्वाचन क्षेत्र तेह्रथुम हो । तेह्रथुममा ७३ हजार १ सय ३७ मतदाता छन् । जिल्लामा ३७ हजार ६२७ पुरुष र ३५ हजार ५१० महिला मतदाता छन् । मतदाता संख्या कम भएका कारण यहाँ मतदान स्थल ५६ र मतदान केन्द्र ९३ वटा मात्र रहेका छन् ।
प्रदेशको हिमाली जिल्ला सोलुखुम्बुमा ८५ हजार ५१५ मतदाता रहेका छन् । सोलुखुम्बुमा मतदाता कम भए पनि भौगोलिक विकटताका कारण मतदान स्थल भने १२३ वटा राखिएको छ ।
तथ्याङ्क अनुसार मोरङ र सुनसरीमा मतदाताको चाप धेरै छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा मतदाता संख्या १ लाख १० हजारदेखि १ लाख ५८ हजारको बीचमा छ । मोरङ क्षेत्र नं. ३ मा सबैभन्दा धेरै १७९ वटा मतदान केन्द्र रहेका छन् ।
ताप्लेजुङमा ९० हजार ३२७, पाँचथरमा १ लाख ४३ हजार ४०८ र इलाम क्षेत्र नम्बर १ मा १ लाख १२ हजार ३२० मतदाता रहेका छन् । ताप्लेजुङमा निर्वाचनका लागि ८० वटा मतदान स्थल र १२७ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । धनकुटामा १ लाख १६ हजार ४ २५ मतदाताका लागि ११९ मतदान स्थल र १६६ मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचन आयोगले १८ वर्ष पूरा भएका मतदाताहरूको यो अन्तिम सूचीका आधारमा फागुन २१ गते मतदानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।