लोड हुँदैछ...

मेनु

बालेनले मात्र प्रयोग गर्दै आएको काठमाडौं महानगरको भीआइपी लिफ्ट सर्वसाधारणका लागि खुला

बालेनले मात्र प्रयोग गर्दै आएको काठमाडौं महानगरको भीआइपी लिफ्ट सर्वसाधारणका लागि खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालय भवनमा रहेको ‘भीआइपी लिफ्ट’ अब सर्वसाधारण सेवाग्राहीले पनि प्रयोग गर्न पाउने भएका छन् ।

लिफ्टमा राखिएको पासवर्ड हटाइएपछि सेवाग्राहीलाई समेत चढ्न मिल्ने बनाइएको हो ।

कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनअनुसार लिफ्ट खुला गरिएको महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिए । उनका अनुसार गत माघ ६ गते नै लिफ्टको पासवर्ड हटाइएको छ ।

मेयर बालेन्द्र शाहले माघ ४ गते पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी घोषणा गरेका थिए । उनी पदमा रहँदासम्म सो लिफ्ट प्रयोग गर्न सर्वसाधारण त के कर्मचारी र अन्य जनप्रतिनिधिले पनि पाएका थिएनन् ।

कमलादीस्थित महानगर कार्यालयमा हाल तीन वटा लिफ्ट सञ्चालनमा छन् । तीमध्ये ‘भीआइपी लिफ्ट’ २०८१ साल साउनमा तयार भएको थियो । सुरुबाटै सो लिफ्टमा सर्वसाधारणको पहुँच थिएन ।

महानगरपालिकाका कार्यालय भवन दुई भागमा विभाजित छन् । एउटै संरचनामा जोडिएका यी भवनमध्ये आधा भागमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वातावरण विभागलगायतका कार्यकक्ष छन् भने अर्को भागमा विभिन्न विभाग, शाखा र महाशाखाका कार्यालय सञ्चालनमा छन् । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको भवन छ तले छ । जहाँ सबैभन्दा बढी सेवाग्राही पुग्ने गर्छन् ।

उपमेयर सुनिता डंगोलको कार्यकक्ष तेस्रो तलामा, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको चौथो तलामा र तत्कालीन मेयर बालेन्द्र शाहको कार्यकक्ष पाँचौँ तलामा रहेको छ । ती कार्यालयसम्म पुग्न भर्‍याङ र लिफ्ट दुवैको व्यवस्था भएपनि नयाँ बनेको ‘भीआइपी लिफ्ट’मा सर्वसाधारणलाई चढ्न अनुमति थिएन ।

पासवर्डबिना सञ्चालन नहुने यो लिफ्ट प्रायः सधैँ ‘लक’ अवस्थामा रहन्थ्यो । निवर्तमान मेयर बालेन साहले मात्र प्रयोग गर्ने गरेको उक्त लिफ्ट आइतबारदेखि सेवाग्राहीका लागि खुला गरिएको हो ।

सुन्धारास्थित जेडीए कम्प्लेक्सबाट महानगरको कार्यालय कमलादी सरेपछि पार्किङ क्षेत्रसँगै जोडेर बनाइएको यो लिफ्टको छेउछाउमा समेत सेवाग्राहीलाई पुग्न नदिने व्यवस्था गरिएको थियो । पासवर्ड हटेसँगै उक्त लिफ्ट सबैका लागि प्रयोगयोग्य बनेको छ । जसले सेवाग्राहीलाई सहजता थप्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।