दमक । रास्वपाका वरिष्ठ नेता एवं झापा क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले काठमाडौंमा सुकुम्बासीको ज्यान जोगाउन उनीहरुको बस्तीमा डोजर चलाएको बताएका छन् ।
काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलाएको विषय झापाको कमल गाउँपालिकाका सुकुम्बासीले उठाएपछि बालेनले यस्तो दावी गरेका हुन् ।
काठमाडौंमा खोलाको किनारमा बसेरका सुकुम्बासीको ज्यान बाढीको कारण जोखिममा पर्ने गरेकोले उनीहरुको ज्यान जोगाउन डोजर चलाएको उनको दावी छ । सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट हेर्नुपर्ने भन्दै उनले काठमाडौँको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको जिकिर गरे ।
‘काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गा हो । उहाँहरू जहाँ बस्नुभएको छ, बाढी आउँदा त्यहाँ डुबान हुन्छ। त्यहाँभन्दा माथिसम्म नै पुग्छ । असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र लैजानुपर्छ नि त,’ उनले भने, ‘त्यसैले उहाँहरूलाई त्यहाँबाट सेफ(सुरक्षित) ठाउँमा राख्नुपर्यो भनेर गरेको हो । तर, त्यसको गलत न्यारेटिभ गरेर डोजर जस्तो देखिएको हो । खास त उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो ।’
सुकुम्वासीको नाममा राजनीति गर्ने र पहुँचवालाले मात्र पुर्जा पाउने प्रथाको अन्त्य हुनुपर्ने बताउँदै शाहले कसैलाई पनि विस्थापन गर्नुभन्दा पहिले उनीहरूको उचित व्यवस्थापन र सुरक्षित बसोबासको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए । यद्यपी उनले कुनै विकल्पविना काठमाडौंमा सुकुम्बासीको बस्तीमा डोजर चलाएका थिए ।
अर्को प्रसंगमा शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका छन्। मन्त्री र सांसदले खाएको तलबले देश नडुबेको उनको भनाइ छ । ‘प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च हो त्यो’, उनले भने, ‘मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन।’
शाहलाई एक जना स्थानीयले प्रदेश संरचना खारेजी गरे शिक्षा र स्वास्थ्य लगायत क्षेत्रका लागि बजेट पर्याप्त हुने कुरा गरेका थिए। त्यसको जबाफमा शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका हुन् । शाहले संविधानमा शिक्षा निःशुल्क गर्ने भनेर लेखिएको भएपनि नेपाल सरकारसँग त्यस अनुसार बजेट नभएकोले गरिबलाई मात्र निःशुल्क गर्न सकिके बताए ।
फागुनको पहिलो साता आफ्नो घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिँदै शाहले आफू र आफ्नो पार्टीले देशका हरेक क्षेत्रलाई समेट्ने गरी विस्तृत घोषणापत्र तयार गरिरहेको उल्लेख गरे । उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार र व्यापारका लागि छुट्टाछुट्टै तथा स्पष्ट नीतिहरू ल्याउन लागेको बताए ।
स्थानीयले देश परिवर्तनका लागि बालेनको योजना सुन्ने चाहना रहेको बताएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।