झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले नेपालको वर्तमान प्रदेश संरचनामा खर्च न्यून रहेको दाबी गरेका छन् । चुनावी घरदैलोका क्रममा झापाको कमल गाउँपालिकाका स्थानीयहरूसँग कुराकानी गर्दै शाहले राज्यको ढुकुटी मन्त्री र सांसदको तलबले मात्रै रित्तिएको भन्ने तर्कमा सत्यता नरहेको बताए ।
‘प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च हो त्यो,’ स्थानीयसँगको छलफलमा शाहले भने, ‘मन्त्री र सांसदले खाएको तलबले मात्रै देश डुबेको होइन ।’
छलफलका क्रममा एक स्थानीयले प्रदेश संरचना खारेज गरेर त्यहाँ बचत हुने बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका थिए । झण्डै २० वर्ष खाडी मुलुकमा श्रम गरेर फर्किएका ती स्थानीयले नेपालमा लगानी गर्ने वातावरण र पैसा नरहेको गुनासो गर्दै शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क वा सहुलियतपूर्ण बनाउन सकिने सम्भावनाबारे शाहलाई प्रश्न गरेका थिए ।
स्थानीयको प्रश्नको जवाफ दिँदै नेता शाहले संविधानमा निःशुल्क शिक्षाको व्यवस्था गरिए पनि कार्यान्वयनका लागि पर्याप्त बजेट नभएको यथार्थ सुनाए । उनले भने, ‘शिक्षा निःशुल्क गर्ने भनेर संविधानमा त लिखियो तर बजेट छैन ।’
उनले आर्थिक अवस्था कमजोर भएका नागरिकले पनि शिक्षा र स्वास्थ्यमा सहज पहुँच पाउनुपर्ने धारणा राखे । ‘खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्यो, खल्तीमा पैसा हुनेले व्यापार गर्न पाउनुपर्यो,’ शाहले थपे । उनले हाल रास्वपा र आफूहरूले विपन्न विद्यार्थीलाई शिक्षामा सहयोग गर्दै आएको समेत जानकारी दिए ।
झापा ५ मा चुनावी सरगर्मी बढिरहेका बेला रास्वपाका वरिष्ठ नेता शाहको यस्तो अभिव्यक्तिलाई चासोका साथ हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।