मोरङ क्षेत्र नम्बर ४ का निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रुपेश खतिवडासँग आगामी निर्वाचनको तयारी, रणनीति र चुनावी माहोलका विषयमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
मोरङ क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनको तयारी कस्तो भइरहेको छ ?
– हामीले अत्यन्तै व्यवस्थित र योजनावद्ध ढंगले निर्वाचन तयारी अगाडि बढाएका छौं । पार्टीले मलाई निर्वाचन परिचालनको कमान्ड सुम्पिएपछि हामीले २३ वटै वडामा परिचालन समिति निर्माण गरिसकेका छौं । ११ सय १ सदस्यीय मूल समिति र ६१ सदस्यीय सचिवालय बनाएर हामी अहिले टोल–टोल र घरदैलो अभियानमा केन्द्रित छौं । कार्यालय स्थापनादेखि कार्यकर्ता प्रशिक्षणसम्मका कामहरू सम्पन्न भइसकेका छन् ।
तपाईंको निर्वाचन क्षेत्रका मतदाताहरूको उत्साह र प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
– जनतामा अभूतपूर्व उत्साह छ । पहिलो चरणमा हामीले २३ वटै वडाको भ्रमण गर्दा के पायौं भने, कार्यकर्ता मात्र होइन, आम जनता पनि हाम्रो उम्मेदवार अमनलाल मोदीप्रति निकै भरोसा राख्छन् । जनताले मोदीलाई केवल नेताका रूपमा मात्र होइन, आफ्नै सुख–दुःखको साथीका रूपमा हेरेका छन् । उहाँको लोकप्रियता र जनतासँगको निकटता नै हाम्रो जितको मुख्य आधार हो ।

उम्मेदवार अमनलाल मोदीलाई नै जनताले किन रोज्ने ? उहाँका सबल पक्षहरू के हुन् ?
– अमनलाल मोदी परीक्षण भइसकेको र सफल प्रमाणित भइसकेको नेता हुनुहुन्छ । उहाँले यसअघि सांसद र मन्त्रीका रूपमा रहँदा यस क्षेत्रको विकासमा जुन योगदान पुर्याउनुभयो, त्यो जनताले प्रत्यक्ष महसुस गरेका छन् । विराटनगरको ढल निकास, सडक विस्तार, रंगशाला निर्माण, अन्तर्राष्ट्रिय विमानस्थलको पहल र ग्रामीण क्षेत्रको विकासमा उहाँले पुर्याउनुभएको बजेट र योगदान अतुलनीय छ । उहाँ ‘काम गर्ने नेता’ भएकाले जनताले उहाँलाई नै रोज्ने निश्चित छ ।
यस क्षेत्रमा आदिवासी, जनजाति र थारु समुदायको बाहुल्यता छ, उनीहरूको समर्थन कस्तो छ ?
– अमनलाल मोदी यही माटोको छोरो हुनुहुन्छ । उहाँले पिछडिएको समुदायको आवाजलाई सधैं बुलन्द गर्नुभएको छ । आदिवासी, जनजाति, थारु, मुस्लिम र दलित समुदायले उहाँलाई आफ्नो सच्चा प्रतिनिधिको रूपमा गौरवका साथ स्विकारेका छन् । उम्मेदवारी दर्ता गर्दा र घरदैलोमा जाँदा देखिएको जनलहरले यो पुष्टि गरिसकेको छ कि उहाँप्रति ती समुदायको पूर्ण प्रतिबद्धता छ ।
विराटनगरका सहरी क्षेत्रका मतदातालाई आकर्षित गर्न तपाईंहरूको के कस्ता योजना छन् ?
– विराटनगरका मतदाताहरू सचेत र विकासप्रेमी हुनुहुन्छ । अमनलाल मोदीले मन्त्री र सांसद हुँदा विराटनगरको ढल निकास, डुबान समस्या समाधान र पूर्वाधार विकासमा गरेको कामबारे सहरबासी जानकार हुनुहुन्छ । हामीले सहरको समग्र विकासको खाकासहितको प्रतिवद्धता पत्र ल्याएका छौं । जनताले उहाँलाई अनुभव र विकासको ग्यारेन्टी गर्ने नेताका रूपमा लिएका छन् ।
विपक्षी उम्मेदवारहरू पनि हेभीवेट मानिन्छन्, उनीहरूबाट कत्तिको चुनौती देख्नुहुन्छ ?
– नामले हेभीवेट भनिए पनि व्यवहारमा उनीहरू जनताबाट टाढिएका छन् । कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे महामन्त्री भए पनि उहाँ जनताको सुख–दुःखमा कहिल्यै देखिनुभएन । जनताले उहाँलाई चिन्न नै छोडिसकेका छन् । त्यस्तै, एमालेका उम्मेदवार जीवन घिमिरे मन्त्री हुँदा पनि यो क्षेत्रका लागि गर्व गर्न लायक कुनै काम गर्न सक्नुभएन । उनीहरू केवल चुनावका बेला देखिने मौसमी नेता हुन्, त्यसैले उनीहरूबाट हामीलाई कुनै चुनौती छैन ।

राष्ट्रिय राजनीतिमा देखिएको ‘स्वतन्त्र’ वा नयाँ दलको प्रभावले तपाईंहरूको मत काट्ने डर छैन ?
– अहिले ‘घण्टी’ वा अन्य नयाँ लहरको कुरा सामाजिक सञ्जालमा मात्रै सीमित छ । उनीहरूसँग न कुनै स्पष्ट नीति छ, न त जनताका लागि भिजन नै । अन्धकारमा उडेको बादल जस्तो चिजले भुइँमा काम गरिरहेको संगठन र उम्मेदवारलाई कुनै असर गर्दैन । समानुपातिकतर्फ केही प्रभाव परे पनि प्रत्यक्षतर्फ जनताले काम गर्ने र भरपर्दो उम्मेदवार नै रोज्नेछन्, जुन अमनलाल मोदी नै हुनुहुन्छ ।
कांग्रेस र एमालेका कार्यकर्ताहरू पनि तपाईंहरूको पक्षमा आएको भनिन्छ, यो सत्य हो ?
– हो, धेरै ठाउँमा कांग्रेस र एमालेका इमानदार कार्यकर्ताहरूले अमनलाल मोदीलाई समर्थन गर्ने आश्वासन दिनुभएको छ । उनीहरूले आफ्नै पार्टीका उम्मेदवारको निष्क्रियता र मोदीको सक्रियता देखेर उहाँलाई जिताउने प्रतिबद्धता जनाउनुभएको छ । विकासका लागि पार्टीभन्दा माथि उठेर मोदीलाई साथ दिनेहरूको संख्या ठूलो छ ।
गठबन्धनको भविष्य र निर्वाचनमा यसको प्रभावलाई कसरी हेर्नुभएको छ ?
– विपक्षीहरूले अप्राकृतिक गठबन्धन गरेका छन्, जसको उद्देश्य केवल सत्ता प्राप्ति हो । तर, हाम्रो उम्मेदवारको जनतासँग ‘महागठबन्धन’ छ । जनता नै हाम्रो शक्ति र भरोसा हुन् । हामीले २३ वटाभन्दा बढी घटक र समूहहरूलाई एकीकृत गरेर एउटा बलियो संगठन निर्माण गरेका छौं । हाम्रो एकता नै हाम्रो जितको ग्यारेन्टी हो ।
अन्तमा, यो निर्वाचनको परिणामलाई लिएर तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?
– हामी पूर्ण रूपमा विश्वस्त छौं । हाम्रो प्रारम्भिक तथ्यांक अनुसार हामी ३५ हजारभन्दा बढी मत ल्याएर विजयी हुनेछौं । विपक्षीभन्दा हामी १० हजारभन्दा बढी मतान्तरले अगाडि रहनेछौं । अमनलाल मोदीको विकासप्रेमी छवि, हाम्रो बलियो संगठन र जनताको अपार मायाले मोरङ क्षेत्र नम्बर ४ मा हाम्रो ऐतिहासिक जित सुनिश्चित छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।