विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको मुख्य बजारबाट केही किलोमिटर भित्र छिर्नेबित्तिकै दृश्य पूर्णतः बदलिन्छ । महानगरपालिकाको वडा नम्बर ४ र १२ का दलित तथा पिछडिएका वस्तीहरूमा चुनावी चर्चा छ । तर त्यहाँका मतदाताको मनमा उत्साहभन्दा बढी आक्रोश देखिन्छ । मोरङ क्षेत्र नम्बर ६ मा पर्ने यी वस्तीहरूमा १ लाख ३७ हजार ८३२ मतदाताले आगामी नेतृत्व चयन गर्दैछन् । जहाँ नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला आफ्नो विरासत जोगाउने दाउमा छन् ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार यस क्षेत्रमा ७० हजार ६१७ पुरुष र ६७ हजार २१४ महिला मतदाता छन् । कुल ३९ मतदान स्थल र १४९ मतदान केन्द्रमार्फत हुने यो निर्वाचनमा डा. कोइरालाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । उनको चुनावी पोस्टरमा लेखिएको छ, ‘मेरो नेतृत्वमा स्थिर सरकार, युवा अवसर र जनताको विश्वास फिर्ता ल्याउँछु ।’ तर, यो घोषणाले कांग्रेसको केन्द्रीय समितिको आधिकारिक गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णयलाई सोझै चुनौती दिएको छ, जसले पार्टीभित्रको आन्तरिक कलहलाई छताछुल्ल पारेको छ ।

डा. कोइरालाले पोस्टरमा ‘युवा अवसर’ को कुरा गरे पनि स्थानीय वस्तीको यथार्थ भने निकै फरक र मर्मस्पर्शी छ । विराटनगर–४, इक्राहीकी स्नातक उत्तीर्ण काजल गडेरी अहिले बेरोजगार छिन् । उनी आक्रोश पोख्छिन्, ‘५–७ हजारको जागिरका लागि कलेजमा त्यत्रो महँगो फि तिरेको हो र ? पढेर के गर्ने, जागिर छैन । अब यस्तो मान्छेलाई भोट दिने मनै छैन ।’
त्यस्तै, ५६ वर्षीय केसरलाल यादवको पीडा झनै कारुणिक छ । उनले दुःख गरेर सिभिल इन्जिनियर बनाएका छोराले जागिर नपाएर अहिले ट्रयाक्टर चलाइरहेका छन् । यादव भन्छन्, ‘पढेको छोराले ट्रयाक्टर चलाउनुपर्ने, नेताका मान्छेले सित्तैमा खाने ? यहाँ पढाइको कुनै मूल्य छैन ।’
वस्तीका पाका मतदाता पनि कोइरालाको कार्यशैलीबाट सन्तुष्ट छैनन् । नाम नबताउने ७६ वर्षीय एक वृद्ध भन्छन्, ‘शेखर कोइराला जितेपछि फर्केर आउँदैनन् । अहिले प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन्, जितेपछि त झन् कसरी भेट्लान् ?।’
विराटनगर–१२ की लाखु राजवंशी र ७० वर्षीय फनकलाल पालको वस्तीमा अहिले नयाँको चर्चा निकै चुलिएको छ । फनकलाल भन्छन्, ‘बाटो पिच भएर मात्र हुँदैन, थोरै पानी पर्दा वस्ती डुब्छ । युवाहरू बेरोजगार भएर कुलतमा फसेका छन्, यता कसले हेर्ने ?’
एमालेका विनोद ढकाल १७ वर्षअघिको हारको बदला लिने रणनीतिमा रहँदा डा. कोइराला भने संस्थापन इतर समूह छोडेर सभापति देउवाको निकट बन्दै प्रधानमन्त्रीको कार्ड खेलिरहेका छन् । तर, तथ्याङ्कमा देखिएका १ लाख ३७ हजार मतदातामध्ये ठूलो हिस्सा ओगट्ने युवा पुस्ताले यसपटक परम्परागत पार्टी र प्रधानमन्त्रीको पोस्टर भन्दा स्थानीय मुद्दा र रोजगारीलाई प्राथमिकता दिने संकेत गरेका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।