लोड हुँदैछ...

मेनु

पाँच वर्षदेखि पूर्वमा क्यान्सर उपचारको क्षेत्रमा सुधार

पाँच वर्षदेखि पूर्वमा क्यान्सर उपचारको क्षेत्रमा  सुधार

विराटनगर । विराटनगरस्थित विराट क्यान्सर संस्थानको आयोजनामा ‘बिराट क्यान्सर विचार गोष्ठी २०२६’ सफलतापूर्वक सम्पन्न भयो। विश्व क्यान्सर दिवसलाई लक्षित गरी ‘विकिरणभन्दा बाहिर: पूर्वी नेपालमा क्यान्सर उपचारको विकास’ भन्ने मूल नाराका साथ यो कार्यक्रम आयोजना गरिएको हो।

यस विचार गोष्ठीले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आयोजकले जनाए। कार्यक्रममा जटिल क्यान्सरका बिरामीहरूको सफल उपचार अनुभव आदान-प्रदान गरियो। क्यान्सर उपचारमा देखिएका चुनौतीहरू तथा आधुनिक प्रविधिको प्रयोगबारे विशेषज्ञहरूबीच गहन छलफल भयो। साथै, चिकित्सा अभ्यासमा आएका नयाँ शोध, नवीन उपचार पद्धति र बहु-विषयक उपचार दृष्टिकोणबारे प्रस्तुतिहरू गरिए।

पूर्वी नेपालमा क्यान्सर उपचारलाई बहु-विषयक पहुँचसम्म विस्तार गर्दै बिरामीलाई गुणस्तरीय र विश्वस्तरीय सेवा प्रदान गर्नु यस कार्यक्रमको प्रमुख लक्ष्य रहेको आयोजकले बताए। क्यान्सर उपचारलाई केवल ‘विकिरण’ (बीम) मा मात्र सीमित नराखी यसलाई सबै विधाका विशेषज्ञहरू सम्मिलित पहुँचसम्म पुर्‍याउने उद्देश्य राखिएको छ।

कार्यक्रममा पाचन प्रणाली, महिलाको पाठेघर तथा प्रजनन अङ्ग, स्तन, टाउको तथा घाँटी, आँखा, मूत्र प्रणाली र रगतको क्यान्सरसँग सम्बन्धित उपचारका विषयमा सामूहिक छलफल गरियो।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्कीले पूर्वी नेपालमा विगत पाँच वर्षदेखि क्यान्सर उपचारको क्षेत्रमा ठुलो सुधार आएको बताए। स्वास्थ्य र क्यान्सर उपचारको क्षेत्रमा सरकारले पर्याप्त काम गर्न नसकिरहेको अवस्थामा निजी अस्पतालले उत्कृष्ट सेवा दिइरहेको उनले उल्लेख गरे। बिराट क्यान्सर संस्थानले छोटो समयमै धेरै बिरामीको सफल उपचार गरेको देख्दा खुसी लागेको उनले बताए।

त्यसैगरी भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले पूर्वी नेपालमा यस्तो किसिमको छलफल हुनु जरुरी रहेको बताए। क्यान्सरको उपचार एकजना चिकित्सकले मात्र गरेर निको नहुने भन्दै उनले सबै विधाका चिकित्सकहरू मिलेर उपचार गर्दा मात्र सफलता मिल्ने विचार राखे।

कार्यक्रमको समन्वय प्रा.डा. नरेन्द्र पण्डित, डा. अस्मिता रायमाझी, डा. राहुल महतो, डा. प्रेरणा अर्ज्याल काफ्ले र डा. भरतमणि पोखरेलले गरेका थिए।

गोष्ठीमा बिराट मेडिकल कलेज शिक्षण अस्पतालका संस्थापक अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. प्रभु प्रसाद शाह, डा. अम्बुज कर्ण, डा. देज कुमार गौतम लगायतका विशेषज्ञहरूको सहभागिता थियो। काठमाडौँ, भरतपुर, मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न अस्पतालका क्यान्सर विशेषज्ञ, शल्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पनि उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।